जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

 चैत १०, २०७९ शुक्रबार ७:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिँदै छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाण्डौको एक होटलमा अन्तिम नतिजा सार्वजनिक गर्न लागिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।

बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।

त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया