वैदेशिक रोजगारीमा जानेलाई देशगत समूह बनाएर अभिमुखीकरण तालिम प्रदान गर्न विभागको निर्देशन

 चैत १०, २०७९ शुक्रबार १२:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले देशगत रूपमा समूह बनाएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य गरिएको पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै विभागले अनिवार्य रूपमा देशगत रूपमा समूह बनाएर अभिमुखीकरण तालिम प्रदान गर्न निर्देशन दिएको हो ।

एउटा कक्षामा बढीमा २५ जनासम्म प्रशिक्षार्थी राखी एक दिनमा एउटा कलष्टरको बढीमा तीन वटासम्म कक्षा सञ्चालन गर्न सक्ने र त्यसका लागि आवश्यक पूर्वाधार तालिम प्रदायक संस्थाले व्यवस्था गर्नु पर्ने निर्देशन विभागले दिएको छ । 

यस्तै, दैनिक छ घण्टाको दरले दुई दिनको कक्षा अनिवार्य लिनु पर्ने, तालिममा सहभागी हुनेहरूको भर्ना समय बिहान ९ बजेदेखि ११ बजेसम्मको हुनु पर्ने पनि विभागले जनाएको छ ।

पटक पटकको अनुगमन र निरीक्षणको क्रममा अभिमुखीकरण तालिम सञ्चालन प्रभावकारी रूपमा नभएको पाइएपछि विभागले तालिम प्रदायक संस्थाहरूलाई निर्देशन जारी गर्दै कार्यविधि अनुसार काम नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

तालिम प्रदायक संस्थाहरूले कानुन विपरीतका गतिविधिहरू गर्ने गरेको, अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि पालना नगरेको र प्रभावकारी रूपमा तालिम सञ्चालन नगरी नाम तथा बायोमेट्रिक हाजिरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राख्न गरेको पाइएको विभागको भनाई छ ।

यस्तो कार्य नगर्न पटक पटक सूचना जारी गरिएको र फेरि पनि यस्तो कार्य गरेको पाइएमा कानुन अनुसार कारबाही हुने सूचना विभागले जारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया