वैदेशिक रोजगारीमा रहेकाको लागि सामाजिक सुरक्षा योजना यी कारणले छ आवश्यक

 चैत १५, २०७९ बुधबार १६:२४:५ | कपिलमणि ज्ञवाली
unn.prixa.net

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु भइसकेको छ । यही चैत ८ गते इजरायलमा कार्यरत मञ्जु थपलियालाई कोषमा सूचीकृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नेपालीहरूका लागि सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७९ ल्याइएको छ । यो कार्यविधिले देशभन्दा बाहिर गएर श्रम पसिना खर्चिनुभएको छ र स्वरोजगारी गरिरहनुभएको छ उहाँहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने योजना हो । यो सुरुवाती अवस्था हो ।

प्रधानमन्त्रीन्यूले औपचारिक शुभारम्भ गर्नुभएपछि चैत ९ गतेदेखि नै वैदेशिक रोजगारीमा नयाँ जाने र विदेशमा काम गरिरहेकाहरू पनि श्रम स्वीकृति नवीकरणको आवेदन दिने क्रममा स्वतः कोषमा आबद्ध हुन थाल्नुभएको छ ।  सुरुवाती अवस्था भएकाले अहिले दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था गरेर विभिन्न चार किसिमको सुरक्षा योजनाहरू सञ्चालनमा छन् ।

यो अहिले नयाँ वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ उहाँहरूले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको फेमिस सिस्टममा आवेदन दिँदा नै सामाजिक सुरक्षा नम्बर पाउनुहुन्छ । कोषमा सूचीकृत हुनका लागि भनेर छुट्टै आवेदन दिन पर्दैन । श्रम स्वीकृतिका लागि आवेदन दिएपछि श्रम स्वीकृति प्राप्त हुँदा नहुँदै सामाजिक सुरक्षा कोषमा आबद्ध भएको परिचयसँगै हाम्रो सिस्टममा लगइन गर्ने यूजर नेम र पासवर्ड पनि पाउनुहुनेछ ।

यस्तै वैदेशिक रोजगारीमा पहिले नै गइसक्नुभएकाहरुले भने श्रम स्वीकृति नवीकरणका लागि विभागको सिस्टममा आवेदन दिँदा स्वतः कोषमा सूचीकरण भएको नम्बर पाउनुहुनेछ । तर श्रम स्वीकृतिको अवधि सकिएको छैन तर अहिले नै सरकारले सुरु गरेको योजनामा सहभागी हुन चाहन्छु भनेर कोही सहभागी हुन चाहनुहुन्छ भने कोषको वेबसाइटमा गएर त्यसमार्फत आफैँले आवेदन दिएर सूचीकृत भई रकम योगदान गर्न पनि सक्नुहुन्छ ।

कोषमा सूचीकृत भइसकेपछि प्रत्येक महिना उहाँहरूको कोषमा २ हजार २ रुपैयाँ जम्मा गर्न पर्छ । ९ हजार ३८५ लाई आधार मानेर यो रकम तोकिएको हो । यदि कोहीले मासिक रूपमा बढी जम्मा गर्न चाहनुहुन्छ भने यसको बढीमा तीन गुणासम्म रकम मासिक रूपमा कोषमा जम्मा गर्न सकिन्छ ।

यो व्यवस्था वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका दुवैका लागि हो । ६ महिनाभन्दा बढीको रकम एकै पटक जम्मा गरेमा १० प्रतिशत छुटको व्यवस्था छ पनि छ । 

पाइने सेवा सुविधा

कोषमा सूचीकृत भई नियमित ९ महिनासम्म योगदान रकम जम्मा गरेपछि दुर्घटना भई अस्पतालमा उपचार गराउन परेको अवस्थामा कोषले वार्षिक एक लाख रुपैयाँसम्म उपलब्ध गराउँछ । विदेशमै उपचार गराएको भएमा रकम भुक्तानीका लागि कोषमा सक्कल बिलहरू पेस गर्न पर्छ ।

त्यसका लागि आफैँ नेपाल आउँदा ल्याउँदा पनि हुन्छ या कुरियर गरेर पठाउँदा पनि हुन्छ । बिलहरू प्राप्त भइसकेपछि कोषले नेपालमा रहेको बैङ्क खातामा भुक्तानी गर्छ । हुन त विदेश जानुभएका श्रमिकहरूमा विभिन्न खालका अन्य समस्या हुने गरेका कुराहरू पनि आइरहेका छन् । तर अहिलेलाई भने दुर्घटना भएको हुने अशक्ततालाई मात्र यो योजनाले समेटेको छ । मिर्गौला फेल हुने लगायतको रोगलाई भने अहिले कोषले समेटेको अवस्था छैन ।

यस्तै अर्को भनेको विदेशमा दुर्घटनामा परेर काम गर्न नसक्ने अवस्था भएमा र त्यो अशक्तता आजीवन अशक्तता हो भने त्यो अवस्थामा ९ हजार ३८५ लाई बेस भनेर त्यसको ६० प्रतिशतले हुन आउने रकम अशक्तता वृद्धि भनेर कोषले श्रमिकलाई मासिक रूपमा उपलब्ध गराउँछ । 

यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत कोषमा योगदान गर्ने वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका व्यक्तिको कुनै पनि कारणले निधन भयो भने अन्तिम संस्कार खर्च भनेर एकमुष्ट २५ हजार रुपैयाँ, त्यसको साथसाथै कोषमा जम्मा भएको रकम र त्यसको प्रतिफलसहित एकमुष्ट परिवारलाई रकम फिर्ता र ९ हजार ३८५ रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम मृतक श्रमिकको पति वा पत्नीले पेन्सनको रूपमा प्रत्येक महिना पाउनुहुन्छ । 

बालबालिकाको शैक्षिक वृत्ति भनेर त्यही आधारभूत रकमको ४० प्रतिशतले नै हुन आउने रकम बालबच्चा २१ वर्षको नहुँदासम्म पढाइका लागि मासिक रूपमा खातामा जम्मा हुन्छ । 

अर्को भनेको वृद्ध अवस्था सुरक्षा योजना हो । यो भनेको तपाईँहरूको बचत हो । तपाईँले कोषमा योगदान गरेको रकम, त्यसले आर्जन गरेको रकम तपाईँ विदेशबाट फर्किएपछि कोषबाट एकमुष्ट लिने वा कोषले सञ्चालन गरेका अरू सुरक्षा योजनाहरू जस्तै औपचारिक, स्वरोजगार वा अनौपचारिक क्षेत्रको सुरक्षा योजना जुनमा चाहे पनि सारेर नियमित योगदान गर्न सक्नुहुन्छ ।

आफ्नो व्यवसाय सुरु गर्नुभयो भने स्वरोजगारबाट योगदान गर्न सक्नुहुन्छ । कुनै कम्पनीमा काम गर्नुभयो भने औपचारिक क्षेत्रका श्रमिकको योजनामा तपाईँले आफ्नो स्किम सारेर पनि  फाइदा लिन सक्नुहुन्छ ।

अहिले कार्यविधिले गरेको व्यवस्था अनुसार कोषमा योगदान गरेर यसले प्रदान गर्ने सेवा सुविधा लिनका लागि ९ महिनासम्म नियमित योगदान गर्नुपर्छ । ९ महिना योगदान गरेपछि मात्रै सेवा सुविधा पाउनका लागि तपाईँ योग्य हुनुहुन्छ ।

विदेशबाट कसरी योगदान गर्ने त

नेपालमा रहेको कोषमा विदेशबाट महिनैपिच्छे योगदान रकम कसरी जम्मा गर्ने भन्ने प्रश्न आउँछ । त्यसैले कोषले पहिले नै ६ महिनाभन्दा बढीको योगदान रकम जम्मा गर्नेलाई छुट दिने व्यवस्था गरेको हो । त्यही समस्या नहोस् भन्नकै लागि अग्रिम योगदान गर्न मिल्ने व्यवस्था गरिएको हो ।

यहाँबाट जाने बेलामा नै जति सकिन्छ योगदान रकम अग्रिम जम्मा गरेर जानुहोस् । त्यस्तै विदेशमा पनि तपाईँले नेपालका बैङ्कहरूको मोबाइल बैङ्किङ सेवा प्रयोग गर्नुहुन्छ वा अन्य मोबाइल वालेटहरू प्रयोग गर्नुहुन्छ भने त्यसबाट पनि रकम तिर्न सक्नुहुन्छ । अथवा आफ्नो परिवारका सदस्यहरूलाई पनि कोषमा रकम जम्मा गरिदिनका लागि अनुरोध गर्न सक्नुहुन्छ । 

तर हामी भने अग्रिम भुक्तानी गर्न नै अनुरोध गर्छौँ । किनकि अग्रिम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुटको व्यवस्था छ । यस्तै तपाईँले मानिलिऔँ तीन वर्षसम्म विदेशमा काम गर्नुभयो र यो अवधिमा कोषमा रकम दाबी गर्नु पर्ने परिस्थिति आइपरेन भने थप २० प्रतिशत छुट पाउनुहुन्छ ।

अनि स्वदेश फर्किएर कोषबाट भुक्तानी लिने बेलामा आफूले त्यहाँ कमाएको रकम औपचारिक माध्यमबाट नै नेपालमा पठाएको प्रमाणहरू पेस गर्नुभयो भने त्यसमा पनि थप २० प्रतिशत छुटको व्यवस्था छ । यसरी तपाईँले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ । 

तर तपाईँले योगदान रकम नियमित जम्मा गर्नुभएन र बीच बीचमा छुटिरह्यो भने फेरि कोषबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन सकिन्छ । त्यसैले कोषमा सूचीकृत भइसकेपछि रकम भने नियमित नै जम्मा गर्नपर्छ ।

कोषमै किन सहभागी हुने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकले पाउने सेवा सुविधा अन्यत्रबाट पाइँदैन र यो कोष आयको निरन्तरताका लागि हो भनेर तपाईँले बुझ्न पर्छ । तपाईँ दुर्घटनामा परेर अशक्त हुनुभयो र काममा फर्कन सक्ने अवस्था नै भएन भने तपाईँले बाँचुन्जेल कोषबाट पेन्सन पाउनुहुन्छ ।

योगदानकर्ताको भवितव्यमा परेर वैदेशिक रोजगारीकै क्रममा ज्यान गयो भने आश्रित परिवारले बाँचुन्जेल निवृत्तिभरण कोषबाट पाउँछन् । बिमा लगायत अन्यत्र एकमुष्ट रकम त पाइएला तर कोषले पेन्सन नै उपलब्ध गराउँछ । कमाउन सक्ने उमेरमा आफूले कमाएको पैसाको निश्चित प्रतिशत रकम अहिले जम्मा गर्दा ६० वर्षपछि जब आय हुँदैन त्यो बेलामा यो कोषले आयको निरन्तरताको सुनिश्चित गर्छ ।

त्यसकारण पनि यो कोष अन्यभन्दा फरक छ र यसमा सहभागी हुँदा गर्भावस्थादेखि मृत्यु पछिसम्मलाई समेट्छ ।

विदेशबाट फर्किएर सबै पैसा निकाल्न पनि पाइन्छ

कोषमा जुन रकम तपाईँले जम्मा गर्नुहुन्छ त्यो तपाईँको आफ्नो बचत हो । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा भएको रकम तपाईँको हो । विदेशबाट फर्किएपछि म अरू योजनामा सार्दिन मेरो पैसा निकाल्छु भन्नुहुन्छ भने पनि एकमुष्ट रूपमा रकम निकाल्न पाउनुहुन्छ ।

हैन म १५ वर्ष नै निरन्तर योगदान गर्छु, विदेशबाट फर्किए पनि स्वरोजगार वा अन्य स्किममा गएर योगदान गर्छु भन्नुभयो भने पनि पाउनुहुन्छ । त्यसकारण यो कोष तपाईँहरूका लागि हो । तपाईँहरूको आयको निरन्तरताका लागि हो ।

१५ वर्ष नियमित योगदान गरेपछि पछि गएर पेन्सन स्किम नै म लिन्छु भन्ने लाग्छ भने पनि कोषमा योगदान गरेको रकम र कोषले आर्जन गरेको रकम जम्मा भइरहेको हुन्छ । त्यसलाई १६० ले भाग गरेर जति रकम आउँछ त्यो रकम बाँचुन्जेल तपाईँले हरेक महिना पेन्सनका रूपमा लिन सक्नुहुन्छ । 

यस्तै नियमित योगदान गर्न थालेको ३६ महिनापछि घर कर्जाका रूपमा कोषबाट तपाईँले ७० लाख रुपैयाँसम्म ऋण लिन सक्नुहुन्छ भने ३५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध हुन्छ ।

त्यसकारण बिना कुनै शङ्का कोषमा सूचीकृत हुनुहोस् । यो कोष तपाईँहरूको आयको निरन्तरताका लागि हो । आज कमाउन सक्दा जम्मा गर्नुहोस् । भोलि आइपर्ने जोखिमबाट बच्नुहोस् । 

(सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १४, २०८०

कपिलमणि ज्ञवाली

ज्ञवाली सामाजिक सुरक्षा काेषकाे कार्यकारी निर्देशक हुनुहुन्छ । 

1 Comments

  • नारायण बहादुर ठकुरी

    March 29, 2023, 5:19 p.m.

    नमस्कार, म अहिले रोजगारिको सिलसिलामा कुवेत छु र अहिले मेरो उमेर ४० पूरा भयो । यदि मैले हरेक महिना नेपाली २०००० (बीस हजार) यो कोषमा ६० वर्षको उमेर सम्म प्रत्येक महिना त्यतिनै जम्मा गरे र पेन्सन अनुरुप कै योगदान गरे भने मैले ६० कटिसकेपछी प्रत्येक महिना कति पेन्सन पाउनेछु ? म यो योजनामा सहभागी हुन चाहेकोले नै सम्पुर्ण जानकारी चाहन्छु । धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया