‘आन्दोलन नसकी गाउँ जानु हुन्न, साहुले झन् बस्नै दिँदैन’

 चैत १६, २०७९ बिहिबार १३:१:३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

किताबकापी बोकेर स्कुल जानुपर्ने बेला सिरहा मिर्चैयाकी १३ वर्षीया गरिमा राय हातमा प्लेकार्ड बोकेर पैदलै काठमाण्डौ आउनुभएको छ । आफूसँगै आएका अरु पीडितसँगै अँध्यारो मुख लगाएर काठमाण्डौमा दिन बिताउँदै हुनुहुन्छ । भेट्न आउने राजनीतिक नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवासँग प्रश्न गर्नुहुन्छ : मिटरब्याज पीडितका नाममा हामीजस्ता निर्दोष, अबाेध र स्कुले बालबालिकाले कहिलेसम्म अन्याय भोग्ने ? आफूलाई थाहा नभएको, गर्दै नगरेको कर्मको फल भोग्दै कहिलेसम्म भविष्य अन्धकार बनाउने ? यी र यस्ता प्रश्न मिटरब्याज पीडितलाई भेट्न आउने हरेकलाई राख्नुहुन्छ गरिमा ।

कालो म्याट ओच्छ्याएर अनि ब्ल्याङ्केट ओढेर मिटरब्याज पीडितहरु अनामनगरमा रहेको तमु बौद्ध सेवा समितिमा आराम गरिरहेका छन् । तर, गरिमालाई भने आराम गर्ने फुर्सद पनि छैन । कोही पीडितलाई भेट्न आयो कि उहाँ जुरुक्क उठ्नुहुन्छ र आफ्नो प्रश्न र जिज्ञासा तेर्स्याउनुहुन्छ।

बुधवार उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ पीडितलाई भेट्न आउँदा समस्याको समाधानका लागि वार्ता टोली गठन भएको, कानुन बन्दै गरेको यो समस्यालाई फास्ट ट्रयाकबाट लगेर हल गरिने आश्वासन दिइरहँदा गरिमाको प्रश्न थियो, न्याय दिएको भए हामी किन यहाँ आउनु पर्थ्याे ? मन्त्री श्रेष्ठको स्वाभाविक उत्तर थियो ‘एउटाले मात्रै गर्न सक्दैनन् त्यसकारण सबै मिलेर गर्दैछौँ ।’ असुरक्षा अनि धाक धम्कीका बारेको प्रश्नमा सबै व्यवस्था मिलाउने उत्तर थियो उपप्रधानमन्त्री श्रेष्ठको । 

उपप्रधानमन्त्री श्रेष्ठ लगत्तै महोत्तरी जिल्लाका पूर्व सांसद तथा मन्त्री गिरिराजमणि पोखरेल पुग्नुभयो पीडितलाई भेट्नका लागि । उहाँले पनि पीडितलाई अहिलेका लागि आवश्यक पर्ने बस्ने खाने सुविधासहित अन्य कुरामा सहयोग गर्ने वचन दिनुभयो तर, उहाँसँग पनि गरिमाको उही कुरा थियो ‘समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्यो र हामीलाई न्याय दिनुपर्यो ।’

पीडितलाई भेट्न गएका सबैसँग गरिमाको एउटै प्रश्न छ, ‘समस्याको समाधान कहिले र हामीले अकारण किन दुःख पाइरहेका छौँ ?’ प्रायः आउने उत्तर भनेका उस्तै : हामी तपाईँहरुको साथमा छौँ । आवश्यक सहयोग गर्छौँ । सम्बन्धित ठाउँमा कुरा राख्छौँ ।

तर, गरिमाले भने आफ्नो उत्तर पाउनु भएको छैन ।

सिरहा मिर्चैयाको स्वस्तिक पाठशालामा कक्षा पाँचमा पढ्दै गरेकी गरिमा स्कुल नगएको करिब सात महिना भयो । आमाले ऋण लिएको सुजाता साहले पैसा नदिए छोरीलाई अपहरण गर्छु भन्ने धम्कीपछि उहाँ स्कुल जानु भएको छैन । अहिले छ कक्षा जानका लागि अन्तिम परीक्षाको तयारीमा हुनुपर्ने उहाँ बर्दिवासबाट अरुसँगै ११ दिनको हिँडाइपछि काठमाण्डौ आउनु भएको हो ।

११ दिनको हिँडाइले उहाँका खुट्टा पटपटी फुटेका छन् । काठमाण्डौको मातातीर्थबाट खुलामञ्चमा आश्रय लिएर आन्दोलन अगाडि बढाउने क्रममा आइतवार खुलामञ्चमा प्रवेश नदिएपछि उहाँहरुको रातभरि सडकमै बास भयो । खुला आकाश मुनि बस्नुपर्दा धेरै पीडितहरु बिरामी भए । उहाँको पनि घाँटी बसेको छ । रुघा लागेको छ ।

उहाँको बुवा १०/११ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा हुनुहुन्छ । लकडाउनको समयमा बुबाको पैसा आउन रोकियो । यता भाइलाई एक्कासी मस्तिष्क सम्बधी बिरामीका कारण डाक्टरलाई देखाउन परेपछि उहाँको आमाले मिल्ने साथी सुजाता साहसँग २०७५ सालमा दुई लाख रुपैयाँ  लिनुभयो र ६ लाख रुपैयाँको कागज गरिदिनुभयो । र, काठमाण्डौको मेडिसिटीमा देखाउनु भयो ।

उहाँको आमाले एक हप्ताको लागि भनेर पैसा लिनु भएको थिएन । तर, मिल्ने साथी भए पनि साहले भने पैसा माग्न सुरु गरे र धम्की दिन थाले । अलि अलि गरेर पैसा दिँदै गए पनि आठ महिनापछि साहले सबै गरेर १६ लाख रुपैयाँ भएको र महिनाको ६० हजार रुपैयाँ गरेर तिर्नुपर्ने बताए ।

गरिमाको आमाले सबै गरेर दुई लाखको पैँतिस लाख तिरिसक्नु भयो पटक पटक गरेर । १० धुर र ६ धुर गरेर दुई वटा जग्गाकाे रजिष्ट्रेशन पास पनि गरिसक्नुभयो । तर, पैसा नतिरेको भनेर साहुले अदालतमा मुद्दा हाले । पैसा दिने कुनै सामर्थ्य नभएकाले दिने कुरो भएन । अनि त्यसपछि भने उहाँलाई अपहरणको धम्की आयो । र, गएको सात महिनादेखि यस्तै धम्कीका कारण उहाँ स्कुल जानु भएको छैन ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले पीडितहरु काठमाण्डौ आउँदै गर्दा कानुन बनाउनका लागि संसदमा पेस गर्ने तयारी गर्दै थियो । अहिले वार्ता समिति पनि गठन भएको छ । फास्ट ट्रयाकबाट यसलाई टुङ्ग्याउने कुरो पनि चलिरहेको छ । तर, पनि पीडितहरु सरकारको यो आश्वासन र कदमप्रति त्यति विश्वस्त हुन सकिरहेका छैनन् ।

गरिमालाई पनि सरकारले काम गर्दैछु भने पनि काम हुने वा नहुने द्विविधा छ । यसकारण उहाँ यसपटक यो कुराको छिनोफानो नगरि घर नर्फकनेमा दृढ हुनुहुन्छ । अहिले पढाइ छुटे पनि पछि त्यसलाई निरन्तरता दिन सकिने तर, अहिले आन्दोलनबाट त्यसै फर्कनु पर्यो भने गाउँमा झन् उल्टो साहुले यातना दिने र सम्पत्ति सबै जाने हुनाले गुजारा गर्नै कठिनाइ हुने हुँदा अहिले पढाइ भन्दा पनि आन्दोलनलाई टुङ्गोमा पुर्याउनु पर्ने उहाँको अठोट छ ।

उहाँ भन्नुहुन्छ, ‘पढाइ पढ्दै गरौँला । पछि पनि पढ्न सकिन्छ । तर, घर, सम्पत्ति केही नरहेपछि कसरी पढ्ने, कसरी खाने, कसरी बाँच्ने । त्यही भएर अब आन्दोलन नसकी घर नजाने हो । पहिले पनि यस्तै आन्दोलन भएको थियो । तर, त्यसले केही भएन उल्टै साहुहरुले धम्की दिए । काठमाण्डौ गएर आएको होइन के भयो त भन्यो । त्यसकारण पनि अब आन्दोलन नसकी गाउँ जानु हुन्न । साहुले झन् बस्नै दिँदैन।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया