सरकार र मिटरब्याज पीडितबीच अहिले ६ बजे फेरि छलफल हुँदै

कानुन बनेर राजपत्रमा प्रकाशित नभएसम्म आन्दोलन जारी रहने

 चैत १६, २०७९ बिहीबार १७:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको छलफल पुनः ६ बजे बस्ने गरी टुङ्गिएकाे छ । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार सरकार मिटरब्याज पीडितप्रति निकै सकारात्मक रहेको र पीडितभन्दा पनि सरकार छिटो भन्दा छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन आतुर देखिएको छ । 

सङ्घर्ष समितिले सरकारले बनाएको समिति समक्ष आफ्नो दश बुँदे माग राखेको र अघिल्लो कार्यदलका संयोजक भिष्मकुमार भुसालले तयार गरेको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्ने गरी वार्ता टुङ्गिएको संयोजक पासवानले बताउनुभयो । वार्तामा आजै ६ बजे बस्ने सहमति भए पनि आजै अध्ययन गरेर निष्कर्षमा पुग्न सकिने/नसकिनेबारे भने बैठकपछि मात्रै थाहा हुने पनि पासवानले बताउनुभयो । 

सङ्घर्ष समितिले दिएको दश बुँदेमा एउटा शक्तिशाली आयोग गठन गर्ने र आयोगमार्फत तमसुकको अध्ययन गर्ने सहमति भएको छ । साथै सबै तमसुक खारेज हुनुपर्ने, साहुकारको अवैध सम्पत्ति जसको हो उसैलाई फिर्ता दिनुपर्ने, पीडित साहुकारमाथि ठगी मुद्दा सहजरूपले दायर गर्ने वातावरण मिलाउने, अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्ने सहमति भएको छ । 

यस्तै तमसुकका कारण पीडितले दुःख पाएकाले तमसुक खारेज हुनुपर्ने आफ्नो तर्फबाट 'बटमलाइन' भएको कुरा वार्तामा सरकारसमक्ष राखेको पासवानले बताउनुभयो । तमसुक खारेज नभएसम्म आफूहरूको समस्या ज्यूँकात्यूँ रहने हुँदा आफ्नो प्रमुख माग नै तमसुक खारेज रहेको उहाँकाे भनाइ छ । 

दश बुँदे मागको दशौँ बुँदामा कानुन बनेर राजपत्रमा प्रकाशित नभएसम्म आन्दोलन जारी रहने भएका कारण आन्दोलन अहिले नै नटुङ्गिने र अब बाँकी काम सरकारको भएको पनि पासवानले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया