उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
मंसिर ९, २०८१ आइतबार
सिरहा गोलबजारकी ५२ वर्षीया श्यामकुमारी चौधरीले २०५७ सालमा बुवाको उपचारको लागि २० हजार रुपैयाँ लिनुभएको थियो । छिमेकी तथा नातामा काका पर्ने रामनरेश मण्डलसँग २० हजार लिँदा त्यतिबेलै कागज भने ६० हजार रुपैयाँको गर्नुपर्यो । गाउँमा बढी पैसाको कागज गर्नु सामान्य भएको र कागज नगरी पैसा नदिने हुँदा त्यो आफ्नो बाध्यता रहेको चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बुवाको अन्तिम अवस्था जस्तै थियो । डाक्टरले उपचारका लागि बाहिर लैजान भनेको थियो । कागज नगरेको भए उपचारका लागि लैजान पाउने थिएन ।’
उहाँको बुवालाई काठमाण्डौको वीर अस्पतालमा मुटुको उपचार गरेर ठीक नभएपछि डाक्टरले बाहिर लैजानुस् भने । उहाँले मुम्बइ लिएर जानुभयो । र, एक महिनापछि साहूलाई ११ हजार रुपैयाँ दिनुभयो । बाँकी ९ हजार रुपैयाँको भने साहुले एक लाख ६० हजार चाहिन्छ भनेका थिए । त्यसमध्ये एक लाख २० हजार उहाँले गाउँ समाज राखेर दिनुभयो । साहुका अनुसार अझै ४० हजार रुपैयाँ दिनु बाँकी थियो । उहाँको आमाले त्यतिबेला नै गहना बन्धकी राखेर बाँकी ४० हजार पनि दिन खोज्नु भएको थियो । तर, साहुले भने लिन मानेनन् ।
करिब तीन वर्षपछि साहुले पैसा दिन बाँकी छ भनेर अदालतमा मुद्दा हाले । अदालतमार्फत् उहाँको जग्गा लिलामी प्रक्रियामा गयो । तर, त्यसबारे उहाँलाई भने केही जानकारी थिएन । ‘मलाई अदालबाट एउटा पत्र पनि आएको छैन । छिमेकी वीरेन्द्र चौधरीको घरमा सूचना टाँस गरिएको भनिएको रहेछ,’ उहाँ भन्नुहुन्छ, ‘के मेरो घर थिएन र वीरेन्द्र चौधरीको घरमा सूचना टाँस गरेको भन्न ?’
उहाँका अनुसार उहाँको झण्डै २० घर वरपर वीरेन्द्र चौधरी नाम गरेको कोही व्यक्ति नै छैन । अनि हुँदै नभएको व्यक्तिको नाम लिएर उसको घरमा सूचना टाँस गरिएको भनेर फर्जी मान्छे खडा गरेर उहाँको जग्गा लिलामी गरियो । उहाँ भन्नुहुन्छ, ‘मेरो घरमा सूचना टाँसे पो मलाई थाहा हुन्छ त सूचना आयो भनेर ।’
यसमा सबै जालसाजी तथा मिलेमतो भएको चौधरी बताउनुहुन्छ । उहाँले यसमा जालसाजी भएको भन्दै साहु रामनरेश मण्डल विरुद्ध जिल्ला अदालत सिरहामा ठगी मुद्दा पनि दायर गर्नुभयो । तर, मुद्दा उहाँको विपक्षमा फैसला भयो । त्यसपछि उहाँले पुनरावेदन अदालतमा हालेको मुद्दा भने फैसला हुन बाँकी छ । उहाँ भन्नुहुन्छ, ‘हरेक पटक तारिख लिन जाँदा त्यो मान्छे त्यहीँ हुन्छ । अब मैले मुद्दा कसरी जित्छु ?’
६० हजार कागज गरेको आधारमा उहाँको साढे ६ कट्ठा जग्गा लिलाम भयो । उहाँ भन्नुहुन्छ, ‘मैले गाउँ समाजको मान्छे अगाडि राखेर पैसा दिएको छु । सबै मान्छे जुटाउन सक्छु । उसले पनि स्वीकारेको छ कि मैले पैसा लिएको छु भनेर । तर, पनि कुनै कानुन छैन केही छैन ।’
उहाँले साहुसँग कुरा गर्दा अझ ६ लाख रुपैयाँ दियो भने जग्गा फिर्ता गर्छु भन्ने गरेको छ । तर, उहाँ भन्नुहुन्छ, ‘मैले दिएको पैसाको चाहिँ हिसाबै छैन । उसको पैसाको चाहिँ हिसाब चलिरहेको छ, मिटरब्याज । अझ उसलाई भने ६ लाख रुपैयाँ दिनुपर्छ रे । अनि जग्गा फिर्ता गर्ने रे । यो पनि झुठ हो ।’
साहुले आफूले एक लाख २० हजार लिएको भनेर स्वीकार गरेको कागजसमेत राखेर उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिनु भएको थियो । तर, पछि जाँदा भने फाइल नै छैन भनेर फाइल नै हरायो भन्ने जवाफ जिल्ला प्रशासन कार्यालयले दिने गरेको छ । यस सम्बन्धमा कुरा गर्दा प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्नु भनेर पन्छाउने गरेका छन् ।
उहाँ भन्नुहुन्छ, ‘पैसा छ भने सबै छ नत्र केही छैन । यता हाम्रो दाजुभाइ, दिदीबहिनी यति पीडित छन् कि यहाँ खानलाई पनि धौ धौ छ । उता भने मिटरब्याज चढेको चढ्यै छ ।’
उहाँलाई अरुको पीडा हेर्दा आफ्नो पीडा भने केही जस्तो लाग्दैन । यही पीडा देखेर उहाँले गाउँ गाउँ गएर सबैलाई कुरो बुझाएर एकत्रित गरेर नेतृत्व गर्दै काठमाण्डौसम्म ल्याउनु भयो । काठमाण्डौ ल्याउन उहाँलाई कम्ता गाह्रो परेन । पीडितहरु आएर पीडा पोख्ने तर, काठमाण्डौ जाउँ न त आन्दोलनको लागि भन्दा भने कोही तयार नहुने हुँदा सुरु सुरुमा मान्छेलाई बुझाउन धेरै समस्या पर्याे।
सरकारसँग वार्ता भएर सम्झौता भए पनि पीडितहरु घर फर्कन नमानिरहेको अवस्था छ । घरमा आएर साहुले धम्क्याउने तथा घर खाली गर, पैसा ले भनेर कुटपिट गर्ने डरधम्की दिने कारणले कति पीडितहरु अहिले पनि आफूहरुसँगै फर्किने भनेर बसेको चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कति साहुमहाजनले घर खाली गर्न भनेको थियो । हामी गएपछि बल्ल केही भन्न सकेको छैन ।’
साहुकारका कारण तराईमा धेरै सुकुम्बासी भइसकेको र अझै धेरै सुकुम्बासी हुने अवस्था आएको उहाँ बताउनुहुन्छ । एक लाखको तीन लाख अनि तीन लाखको नौ लाखको कागज बनाउने अनि त्यही कागजको आधारमा पैसा पनि लिने जमिन पनि पास गरेर लिने र उल्टो मुद्दा हालेर जेलसमेत हाल्ने जस्ता पीडा, शोषण र चरम अन्याय रहेको चौधरी बताउनुहुन्छ ।
उहाँका अनुसार पैसा लिँदा साहुले ऋणी पो बेइमान हुन्छन् साहु बेइमान हुन्छ त भनेर लिएको पैसाको कागज नगर्ने अनि आफ्नो डायरीमा मात्र लेख्ने गर्दा साहुहरुले प्रमाण नदिने र अन्याय गर्ने गरेका छन् । तर, उहाँ भन्नुहुन्छ, ‘ऋणी कहिले बेइमान हुँदैन । हामीले ऋण खाएको सबै तिर्छौँ भनेको छ । तर, अब भने हामी न्यायपूर्वक तिर्छौँ । अन्यायपूर्वक ऋण तिर्दैनौँ ।’
एक हप्तामा एक लाखको १० हजार रुपैयाँसम्म ब्याज तिर्ने ऋणीहरु अहिले आन्दोलनमा आएका छन् । उहाँ भन्नुहुन्छ, ‘अब यस्तो ब्याज कसैले तिर्न सक्छ । जति विदेश गएर कमाएर पठाए पनि कहिले सकिँदैन । यति पीडामा छन् मान्छेहरु ।’
२० हजारमा एक लाख २० हजार रुपैयाँ तिर्दासमेत आफ्नो साढे ६ कट्ठा जमिन लिलाम भएकोमा उहाँ आश्चर्य व्यक्त गर्नुहुन्छ । मिटरब्याज पीडितमाथि एकदमै अन्याय भएकोले यो अन्यायका विरुद्ध जसरी पनि लडेर, विजय प्राप्त गरेर छोड्ने अठोट बोकेर हिँडेकोले आफूहरु सफल पनि भएको उहाँको दाबी छ ।
अहिले सम्झौता भए पनि अब सम्झौता कार्यान्वयन हुन्छ कि हुँदैन र अब सरकारको रवैया मिटरब्याज पीडितमाथि कस्तो रहन्छ त्यसमा अबको आन्दोलन निर्भर रहने चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले हामी धेरै रोयौँ । अब साहुमहाजनको रुने दिन आयो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।