नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटक काठमाण्डाैमा

 चैत ३०, २०७९ बिहीबार १२:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटकहरु काठमाण्डाैमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार आज १ सय ८१ जनाको चिनियाँ पर्यटककाे समूह विमान चार्टर्ड गरेर काठमाण्डाै आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्नु भएकाे हाे । 

हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । मन्त्री सुदन किरातीले सञ्चारकर्मीहरुसँग नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताउनु भयो । उहाँले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनुले नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो,‘ कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १ सय ८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १ सय ८१ जना नागरिककाे चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले पहिलो समूहमा १ सय ८१ जना आएको र अब लगातार रुपमा ७ सय जना  चिनियाँ पर्यटक आउने बताउनु भयो । उहाँले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको बताउनु भयो । उहाँले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले पर्यटकहरुको नेपाल बसाइ एक हप्ता हुने बताउनु भयो ।

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एअरलाइन्सको विमान चार्टर्ड उडानमार्फत् लगातार आउने तालिका रहेको बताउनु भयो । उहाँले अप्रिल १९ तारिखमा अर्को उडानमार्फत् आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाइमा ३ दिन ट्रेकिङमा जाने र ४ दिन काठमाण्डाै पोखरा घुम्ने बताउनु भयो । उहाँले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ आशा थपेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक नेपालमा बढेसँगै देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको बताउनु भयो ।  

कोरोना महामारीपछि चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य देशमा परेपश्चात चार्टर्ड उडानमार्फत् नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत् आएका हुन् । 

तस्बिर : सुदन किराती 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया