गुल्मीको मुसिकोटमा मह उत्सव

 बैशाख ५, २०८० मंगलबार १७:१९:२५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाइएको छ । मुसिकोट नगरपालिकाअन्तर्गत वडा नम्बर ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । 

कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा मुसिकोटमा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घरपरिवार किसान व्यावसायिक मौरीपालनमा आकर्षित बनेका हुन् । तीन वर्षअघि मौरी स्मार्ट कार्यक्रम लागू भएपछि यहाँका किसानले व्यावसायिक रूपमा मौरीपालन गर्दै आइरहेका छन् ।

मौरीपालन व्यावसायलाई आधुनिकीकरणसँगै महलाई विविधीकरण गरी त्यसको व्यवसायीकरण प्रवर्धन गर्दै गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो पटक मह उत्सव गरिएको सालिमे स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चुमा घर्तिमगरले बताउनुभयो । 

सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रमार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयाे । सालिमे मौरी स्मार्ट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मह वृद्धि वर्ष, तेस्रो वर्षलाई मह उत्सव र चौथो वर्षलाई मह निर्यात वर्षको रूपमा व्यवस्थित कार्ययोजना तय गरेको छ ।  

कार्यक्रममा प्रदेश सभा सदश्य डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, मुसिकोट नगरपालिकाका पूर्वमेयर सोमनाथ सापकोटा, नगरपालिकाकी उपमेयर गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरलगायतले मुसिकोटलाई मह पर्यटकीय स्थलको रूपमा विकास गनुपर्नेमा जोड दिनुभयाे । 

मह उत्सवमा उत्पादित अर्गानिक मह र मह उत्पादनमा प्रयोग गरिने आवश्यक सामग्रीको प्रदर्शनी गर्नुका साथै समूहद्वारा प्रकाशित २०८० सालको क्यालेन्डर विमोचन गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई महको सर्वत, महको चिया र महको खाजा खुवाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया