सडकमा मजदुरको चिन्ता : सधैँ काम गर्न सकिँदैन, दुःख कसले बुझिदिने ?

 बैशाख ७, २०८० बिहिबार १०:२४:१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

प्रदूषणले धुम्म भएको आकाश । वैशाखको प्रचण्ड गर्मी । अनि घामको तापले तातेको ललितपुर महालक्ष्मीस्थानको चक्रपथको चोक । चक्रपथ चोकबाट लगनखेलतर्फको दायाँबायाँ बगैँचाको हरियाली अनि रुखले त्यहाँ बिहानैदेखि कामको खोजीमा उभिने मजदुरलाई अलिकति भए पनि शीतलता दिन्छ ।

चोकमा बिहानैदेखि कामको खोजीमा मजदुरको भिड लाग्ने गर्छ । जतिजति दिन छिपिँदै जान्छ मजदुरको सङ्ख्या पातलिँदै जान्छ । र, दिउँसोतिर ससाना झुण्डमा अनि एक्लाएक्लै पनि कामको खोजीमा मजदुर भौँतारिरहेका हुन्छन् ।

यसैगरी भौँतारिरहनु भएको छ रामेछाप गोकुलगंगा गाउँपालिकाका पसन्त मावुहाङ । ज्यामी काम गर्ने ३५ वर्षीय मावुहाङको चलेको दैनिक ज्याला दिनको एक हजार रुपैयाँ हो । तर, काम नपाएर त्यसै बस्नुभन्दा कहिले आठ सय तथा कहिले बाह्र सय रुपैयाँमा पनि काम जाने गरेको बताउनुहुन्छ उहाँ ।

कोठाभाडा तीन हजार, राशनमा झण्डै दश/बाह्र हजार र अरु खर्च गरेर महिनाको करिब बीस हजार रुपैयाँ खर्च हुन्छ । यति खर्च जुटाउन कम्तीमा बीस दिन त काम पाउनै पर्छ । ठेकेदारको काम हुँदा भने सजिलो हुन्छ । काम खोज्ने झण्झट पनि हुँदैन । तर, कहिलेकाहीँ ठेकेदारले पैसा नदिँदा भने तनाव हुने बताउनुहुन्छ मावुहाङ ।

सामान्यतया चोकमा बर्खामा काम पाइँदैन । दशैँ तिहारको सिजनमा भने मानिससँग पैसा पनि हुने अनि घर, सजाउनेदेखि अरु मर्मतसम्भारको काम पनि धेरै गराउने भएकोले त्यस बेला भने काम धेरै हुने गर्छ ।

‘असार साउनमा पानी पर्दा काम पाइँदैन । तर, फेरि असोज, कात्तिकमा दशैँको सिजनमा काम धेरै पाइन्छ,’ उहाँ भन्नुहुन्छ, ‘काम नभएर पैसा नहुँदा भोकभोकै पनि सुत्नुपर्छ । कहिले सापटी लियो चलायो । त्यो पनि तिर्न गाह्रो हुन्छ । अर्कोसँग पनि कहाँ हुन्छ र लिनलाई ।’

जाँड, रक्सी, चुरोट नखाने कारणले बीस हजार रुपैयाँले खर्च पुग्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सुर्तीको अम्मल छ । चियामा खर्च हुन्छ । अरु केहीमा नि खर्च हुन्न नत्र त्यति पैसाले कहाँ पुग्छ ?’

आठ कक्षासम्म अध्ययन गरेका मावुहाङलाई देशको राजनीतिप्रति खासै चासो छैन । तर, नेताहरुले दुःखी, गरिब र मजदुरहरुलाई हेर्दियोस्, काम देओस भन्ने उहाँको चाहना छ । उहाँ भन्नुहुन्छ, ‘जो जो आए पनि जे जे भए पनि केही हुने होइन । यसो हामीजस्ता दुःखी गरिब तथा खानै नपाएका, काम नपाएकालाई यसो सरकारले हेरिदिए सजिलो हुन्थ्यो भन्ने मात्र हो ।’

मावुहाङ जस्तै कामको खोजीमा सानो झोला बोकेर बसिरहनु भएको छ मकवानपुर भीमफेदीका प्रेम आले । झोलामा उहाँको काम गर्दा लगाउने कपडा छ । ज्यामी काम गर्ने भए पनि उहाँको काम भने रङसँग सम्बन्धित छ । तर, सधैँ रङको काम नआउने हुँदा अरु बेला खन्ने, भारी बोक्ने काममा पनि जाने गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘सधैँ रङको काम आउँदैन । ठेकेदारले दियो भने हो । काम नपाएपछि यो उ भनेर बसेर भएन । जे पायो त्यही काम गर्ने हो ।’

उहाँ ललितपुरको इमाडोलमा अर्को एक जना साथीसँग बस्नुहुन्छ कोठामा । ‘मासिक बीस/पच्चीस हजार रुपैयाँ खर्च हुन्छ केही नगर्दा पनि । खर्च जुटाउनै गाह्रो छ । बच्ने भन्ने त छँदैछैन’ उहाँ भन्नुहुन्छ ।

उहाँको घरमा श्रीमती र दुई छोरा छन् । छोराहरु स्कुल पढ्दैछन् । तर, घरमा खर्च पठाउन नसकेकोमा उहाँ दुःखी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसो कहिलेकाहीँ कमाइ भइहाल्यो भने घरमा आठ/दश हजार पठाउने हो । नत्र यस्तै हो ।’

उहाँको झण्डै तीन रोपनी जति बारी पनि छ । यसमा हुने खेतीले झण्डै झण्डै खान पुग्छ । अनि यसो कहिलेकाहीँ पैसा आवश्यक पर्यो भने यता मजदुरीको कमाइले हुन्छ कि भनेर उहाँ काम गर्न आउनु भएको हो ।

महिनाभरी काम भयो भने त तीस हजार रुपैयाँ हुन्छ । तर, काम भने सधैँ पाउन गाह्रो छ । दिउँसो सधैँ काम नपाए पनि बिहान, बेलुकी पाइने कामले चल्न सजिलो भएको बताउनुहुन्छ आले । कहिलेकाहीँ ठेक्काको काम पाउँदा भने उहाँको राम्रै कमाइ हुन्छ । यसले गर्दा केही बचत पनि हुन्छ ।

तर, काम पाउनको हैरानी अनि देशको अवस्थाले उहाँलाई चिन्तित बनाएको छ । उहाँ भन्नुहुन्छ, ‘बल छउञ्जेल त ठीक हो । सधैँ काम गर्न सकिन्नँ । के गर्ने थाहा छैन । नेताहरुले केही हेर्ने गर्ने होइनन् । हाम्रो दुःख कस्ले बुझिदिने ?’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया