भूकम्पले सम्झिरहेको छ, तर मान्छेहरुले बिर्सिए !

 बैशाख १२, २०८० मंगलबार ८:५४:१८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

२०७२ सालको वैशाख १२ गते गएको भूकम्पले धेरै असर गरेको जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी राजकुमारी तामाङले त्यतिबेला भूकम्प गएको भन्ने नै बिर्सिसक्नु भएको छ । भूकम्प जाँदा उहाँ १४ वर्षको हुनुहुन्थ्यो । ‘वैशाख १२ गते आउँछ जान्छ के भो र’ वैशाख १२ गतेको भूकम्पको कुरा सम्झाउँदा उहाँको स्वभाविक प्रतिक्रिया थियो ।

तामाङ वैशाख १२ गते स्कुल छुट्टी भएका कारण बारीमा मकै गोड्ने काम गर्दै हुनुहुन्थ्यो । घरमा उहाँको आमाबाहेका सबै बाहिर नै काम गर्दै थिए । एकाएक भूकम्प गयो । उहाँ भन्नुहुन्छ, ‘खन्दै थिएँ । हल्लियो । पारीपट्टी यसो हेरेको । एकै पटक सबै गाउँ नै ध्वस्त भयो । धेरै मानिस पनि बिते ।’

उहाँले भनेको नाम्फा गाउँ हो । नाम्फामा धेरै घर ढुङ्गा र माटोले बनेका थिए । त्यसकारण पनि कुनै घर बचेनन् । करिब सय घर रहेको उहाँको गाउँ पाङ्गरपुरका पनि एक/दुई घर छोडेर सबै ध्वस्त नै भए । उहाँ भन्नुहुन्छ, ‘शनिवार भएका कारण धेरै मान्छे काममा बाहिर गएका कारण बाँचे । घरमा बसेका केटाकेटी बुढाबुढी अनि पाहुना आएका सबै बिते । हाम्रो घर पनि भत्कियो । मेरो ममि भाग्यले बाँच्नु भयो ।’
अवस्था एकदमै दयनीय थियो । उहाँ सम्झनुहुन्छ, ‘एउटै घरको पनि पाँच जना बित्नु भएको छ । गाईबस्तु पनि धेरै मरे । भीर, पाखामा पनि मान्छेहरु लडेर बित्नुभयो । सम्झँदा पनि कहाली लागेर आउँछ ।’

भूकम्प आएपछि उहाँहरु गोठको सामान ल्याएर छाप्रो बनाएरै बस्नु भयो । दुई/चार दिन खानेकुरा पनि भएन । अनि केहीको घरबाट पुरिएको खाद्यान्न झिकेर खाने अवस्था बन्यो, पछि भने राहत आउन थालेपछि मात्रै सजिलो भयो ।

अहिले पनि उहाँलाई घरबाट भने भूकम्प आएको दिन भनेर सम्झाइरहन्छन् । राम्रोसँग बस्नु भनेर पनि भन्छन् । ‘ममिले घरबाट राम्रोसँग बस्नु भनेर भनिरहनु भएको थियो,’ उहाँ भन्नुहुन्छ, ‘अब सम्झेर याद गरेर बसिरहन पनि हुँदैन । अब सम्झेर याद गरेर बसिरह्यो भने झन डर हुन्छ । अब अगाडि बढ्नु पर्ने मान्छे त्यसलाई सम्झेर बसेर भएन । त्यै भएर बिर्सेछु ।’

भूकम्पमा परेर आफन्त गुमाएका वा घर क्षति भएका बाहेक धेरैले वैशाख १२ को भूकम्प बिर्सिसकेका छन् । भूकम्प गएको एक/दुई वर्षसम्म मानिसहरु घर पनि सानो बनाउने भन्ने गर्थे तर, अहिलेको घर बनाइ वा अन्य निर्माण कार्य हेर्दा लाग्छ यहाँ भूकम्प गएको नै थिएन र अब आउँदा पनि आउँदैन ।

इन्द्रचोक बस्ने वर्ष ८० का ज्योतिरत्न तुलाधरका छोराहरु वैशाख १२ गएको भूकम्पमा टुँडिखेलमा आफ्नै गाडीमा सुत्नुभयो । तर, उहाँ भने जे पर्छ पर्छ भनेर आफ्नै घरमा सुत्नुभयो । भूकम्प नै आउँदा भने उहाँ जुत्ता नै नलगाइकन भाग्नु भयो । दिनभर बाहिरै बस्नुभयो । वैशाख १२ को भूकम्पमा परेर उहाँको काठमाण्डौ महानगरपालिका–१९ प्याफलमा रहेको घरमा अहिले पनि टेको लगाएर राखिएको छ । तर, उहाँ भन्नुहुन्छ, ‘भूकम्प भनेको यस्तै हो आउँछ, जान्छ ।’

मान्छेले भूकम्प बिर्सिए पनि भूकम्पले भने मान्छेलाई सम्झाइ रहेको छ । गएको माघ ८ गतेदेखि वैशाख १० गतेसम्ममा १९ पटक भूकम्प गएको छ । जसमा सबैभन्दा ठूलो बाजुरा केन्द्रविन्दु भएर माघ १० गते गएको ५ दशमलव ९ रेक्टरको भूकम्प गएको थियो । सबैभन्दा सानो चैत १७ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्प गएको थियो ।

गएकोे तीन महिनामा १९ पटक भूकम्प गएकोमा ४ रेक्टरको २ पटक, ४ दशमलव १ को ५ पटक, ४ दशमलव २ को २ पटक, ४ दशमलव ३ को ३ पटक, ४ दशमलव ४ को १ पटक, ४ दशमलव ५ को १ पटक, ४ दशमलव ६ को १ पटक, ४ दशमलव ८ को १ पटक, ५ दशमलव २ को २ पटक, ५ दशमलव ९ को भूकम्प १ पटक गएको छ ।

आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो । तर, पनि अहिले मान्छेले घर तथा अन्य निर्माणकार्य गर्दा भने भूकम्प आएको बिर्सिए जसो गरी अग्ला, ठूला र भूकम्प प्रतिरोधी प्रविधि नपनाइ खर्च किफायती हुन्छ भन्ने ढंगले बनाइरहेको देखिन्छ ।

अहिले भूकम्पलाई कर्मकाण्डीरुपमा सम्झिने गरेको पाइन्छ

लोकविजय अधिकारी 
वरिष्ठ भूकम्पविद् 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र

हामी नेपालीको बानी केही भइहाल्यो भने एकदमै छिटो प्रतिक्रिया व्यक्त गर्ने खालको छ । तर, समयक्रमसँग बिस्तारै बिर्सँदै जाने छ चाहे त्यो एकदमै क्षति गर्ने खालको अनि भविष्यमा हाम्रो जीउधन नै क्षति गर्ने किन नहोस् । त्यही कुरा यो भूकम्पमा पनि लागू हुने देखिन्छ ।

२०७२ सालको तुरुन्तै भूकम्पबाट सुरक्षित रहनलाई घर बनाउँदा राम्रो, बलियोसँग बनाउनुपर्छ भन्ने चेतना ह्वात्तै बढेको देखिन्थ्यो । त्यसको चर्चा पनि बढी हुन्थ्यो । तर, २०७२ सालको भूकम्प गइसकेपछि पनि ठूला पराकम्प गइरहेका कारण डर, त्रास बाँकी नै छ । तर, व्यवहारमा भने हामीले बिर्सिएकै हो कि भन्ने अवस्था पनि हामी देख्छौँ । 

घर सानो ठूलो बनाउँदा भूकम्पबाट कम क्षति वा धेरै क्षति हुने भन्ने होइन । भूकम्प प्रतिरोधी विधि अपनाएर बनाएका छौँ कि छैनाैँ भन्ने कुरा मुख्य हो । भविष्यमा आफ्नो ठाउँमा जाने भूकम्पले गर्दा हुने क्षतिलाई न्यूनीकरण गर्ने तरिकाले बनाएका छौँ कि छैनौँ भन्ने कुरामा भर पर्छ । घर अग्लो बनाउँदैमा असुरक्षित हुने अनि होचो बनाउँदैमा सुरक्षित हुने भन्ने होइन । भूकम्प प्रतिरोधी विधि अपनाएर वा भवन आचारसंहिता अनुसारको घर बनाएका छौँ कि छैनौँ भन्ने कुरामा भर पर्छ । यदि हामीले भवन आचारसंहिता पालन गरेर त्यसै अनुसारको घर बनाएका छौँ भने अग्लो वा होचो बनाएका छौँ भने ठूलो भूकम्प जाँदा त्यसबाट सुरक्षित हुन सकिन्छ, कम क्षति हुन्छ वा न्यून क्षति हुने हुन्छ ।

तर, अहिले बाहिर देखिएको भरमा भुकम्प प्रतिरोधी विधि अपनाइएको हो कि होइन भन्ने चाहिँ भन्न सकिन्न निजी घरको सन्दर्भमा । सरकारी भवनमा त भवन आचारसंहिता अनिवार्यरुपमा लागू गर्नुपर्ने कारणले सुरक्षित हुनुपर्छ भनेर मान्नुपर्छ । लापरबाही भएको छ भने हाम्रो कमजोरी हो भनेर मान्नुपर्छ ।

तर, हाम्रो बानी के भयो भन्दा हामीले भूकम्प गइसकेपछि वा धेरै समय भएपछि बिर्सिँदै गयौँ । ठूलो कुरा त सरकार वा अरु जिम्मेवार निकायले नयाँ नयाँ कुरा विषय आएका कारण यस कुरामा ध्यान नदिने, बिर्सने गरेको हो कि जस्तो देखिन्छ । यसो भन्दैमा भूकम्पलाई बिर्सन भने हुँदैन ।

अहिले भूकम्पलाई कर्मकाण्डीरुपमा सम्झिने गरेको पाइन्छ । सरकारीरुपमा वा सार्वजनिक संस्थाले यसलाई कर्मकाण्डीरुपमा सम्झिएको भान हुन आएको छ । ९० सालको भूकम्पलाई जसरी चटक्क बिर्सिएर एउटा भूकम्प दिवसकोरुपमा मनाउने गरिएको थियो त्यो बाहेक नत्र हामीले भूकम्प बिर्सिसकेका थियौँ । २०७२ सालको भूकम्पलाई पनि सरकारीरुपमा वा संस्थागतरुपमा अहिले हामीले गर्ने कार्यक्रमहरु अनि त्यसबाट लिने पाठहरु, शिक्षाहरु सिक्नुपर्ने वा लागू गर्नुपर्ने थियो त्यसलाई हेर्दा हामीले भूकम्प बिर्सिसकेका छौँ कि भन्ने भान व्यक्तिगतरुपमा मलाई हुन्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया