कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
पाण्डेले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । पाण्डेलाई कांग्रेसका २७, माओवादीका सात र एक स्वतन्त्रसहित ३५ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजाे मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएकाे थियाे ।
मुख्यमन्त्रीमा नियुक्ति भएपछि पाण्डेले अहिलेको गठबन्धन प्रदेश सभाको अवधिभर रहने बताउँदै सरकार आलोपालो गरेर चलाउने बताउनुभयाे । उहाँले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताउनुभयाे । मन्त्रिपरिषद् सात सदस्यीयभन्दा नबढ्ने उहाँकाे भनाइ छ । प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी बढाउने खालका कार्यक्रमहरू बजेटमा समेट्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।
गण्डकीको नेतृत्वमा माओवादीकाे पनि दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाएपछि माओवादी सांसदले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गर्नुभएकाे थियाे । चुमानले आलोपालो गरेर सरकार चलाउने बताउँदै कसले कति वर्ष चलाउने भन्ने निर्णय भइनसकेको बताउनुभयाे ।
नवनियुक्त पाण्डे भाेलि शुक्रवार पद तथा गाेपनीयताकाे शपथ लिने तयारीमा हुनुहुन्छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसद रहेका छन् ।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार एक सय पाँच दिनमै ढलेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।