रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको व्यावसायिक उडान अघि परीक्षण उडान

 वैशाख १५, २०८० शुक्रबार १०:४८:३८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण भएको छ । रेसुङ्गा नगरपालिका १० मा रहेको सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले बिहान ७ बजेर ३९ मिनेटमा परीक्षण उडान गरिएको हो ।  निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले  परीक्षण उडान  गरेको हो ।

२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको विमानस्थलकाे १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ । यो उडान रेगुलर कमर्सिएल उडानभन्दा अगाडि गर्नुपर्ने उडान रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले बताउनु भएको छ ।

‘यसमा फ्लाइट प्याचर, इञ्जिनियर, पाइलट, एअर नेभिगेटर लगायतको प्राविधिक टोलीले कुन एङ्गलबाट ल्याण्ड गर्न सजिलो हुन्छ, कति हावा लाग्छ, कति लोड लिन सकिन्छ, कताबाट टेक अफ गर्न सजिलो हुन्छ भन्ने विषयमा आज मापन गरेको छ’, उहाँले भन्नु भयो । 

उहाँका अनुसार कति यात्रु ल्याउन /लैजान सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडा दर निश्चित हुने भएको छ । रेसुङ्गा काठमाण्डाै उडानको भाडा अहिले सरदर ६ हजार ५ सय रूपैयाँ हुने भनिए पनि अन्तिममा ६  हजार रुपैयाँसम्म कायम हुन सक्ने उहाँको भनाइ छ । ‘१५ देखि १७ जना यात्रु बोक्न सके ६३ सयदेखि ६ हजार रुपैयाँसम्म हुन्छ’, कँडेलले भन्नुभयो । 

निगमका क्याप्टेन मनिष विष्टले आफूहरूले बढीमा एक हप्ताभित्र नागरिक उड्डयन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताउनुभयो । ‘उडान अवतरण सफल रहेको हामीले पायौँ, अब हामीले प्राधिकरणलाई प्रतिवेदन बुझाएपछि बढीमा एक हप्तामा नियमित उडान हुन्छ’, उहाँले भन्नुभयो । 

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो । लामो समयपछि जहाज चढेर काठमाण्डाै जाने गुल्मीवासीहरुको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका मेयर  खिलध्वज पन्थीले बताउनु भयो । ‘कनेक्टिभिटी समृद्धिको पहिलो आधार हो, त्यसमा पनि हवाई कनेक्टिभिटी महत्त्वपूर्ण छ’, उहाँले भन्नु भयो, ‘गुल्मीको यो आधार अब एक हप्ताभित्र पूरा हुन्छ।’

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया