चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
संखुवासभा सभापोखरी गाउँपालिका–६ की हर्कमाया तामाङको पीडाको कुरा गरी साध्य छैन । ७ महिना अगाडि मात्रै उहाँको थाइराइडको शल्यक्रिया भएको निशानी घाँटीमा छँदैछ । उहाँलाई त्यो भन्दा पनि बढी पीडा २५ वर्षीय जवान छोराको दुवै मृगौलाले काम गर्न छोडेपछि भएको छ । छोराको डायलासिस गराउन वीर अस्पताल आउनु भएकी ५२ वर्षीया तामाङको मुहारमा यो पीडा प्रष्ट झल्किन्छ ।
उहाँले छोराको डायलासिसको लागि आउजाउ गरिरहनुपर्छ भनेर कपनमा डेरा लिएको नै पाँच महिना भइसक्यो । ‘महिनाको ९ हजार कोठा भाडा मात्रै तिर्नुपर्छ । अरु खर्चको त हिसाब किताब नै छैन । चन्दा उठाएको झण्डै ५/७ लाख रुपैयाँ सकिसक्यो । बेच्नलाई पनि केही छैन’ अँध्यारो अनुहार बनाएर टोलाइरहनुभएकी उहाँले आफ्नो व्यथा पोख्नुभयो ।
वीर अस्पतालले हप्ताको दुई दिन आइतवार र बुधवार निःशुल्क डायलासिस गर्छ । उहाँको छोराको पनि हप्ताको यिनै दुई दिन डायलासिस हुन्छ । बेलुका ५ बजेपछि डायलासिस हुन्छ । डायलासिस गर्न झण्डै साढे ४ घण्टा लाग्छ । अस्पतालको सबै काम सकेर कोठा जाँदा झण्डै रातिको १० बज्छ ।
उहाँ आफैँ बिरामी अनि त्यसमाथि डाक्टरले भनेको औषधिको बारेमा नबुझ्ने, राति ट्याक्सीमा बिरामी लिएर फर्कनुपर्ने भएपछि तीन भाइ छोरामध्ये बिरामी माइलो छोराको हेरविचार गर्न वैदेशिक रोजगारीका लागि दुबई गएको कान्छो छोरालाई नेपाल नै फर्काउनु भएको छ ।
कान्छो छोरो दुबई गएको दुई वर्ष भए पनि खासै काम तथा कमाइ राम्रो नभएका कारण पनि यतै दाइको हेरविचार गर्न झिकाउनु परेको बताउनुहुन्छ तामाङ । उहाँ भन्नुहुन्छ, ‘उता गएको दुई वर्ष भए पनि काम पनि राम्रो भएन । कमाइ पनि भएन अनि दाइलाई हेरविचार गर्नुपर्यो भनेर यतै झिकाइयो।’
उहाँले छोरालाई आफैँले मृगौला दान गर्न लाग्नुभएको छ । उहाँको र बिरामी छोराको रगत समूहदेखि अरु जाँच भइसकेको छ । पाँच महिनादेखि डायलासिस गर्दै आए पनि डाक्टरले मृगौला प्रत्यारोपणको समय भने यही २६ गतेलाई दिएका छन् । तर समय सर्न सक्ने सम्भावना पनि छ । तामाङ भन्नुहुन्छ, ‘समय त लामो भयो । हामीले त सकेसम्म चाँडो गर्दिनुस् भनेको । खर्चको पनि गाह्रो परेको छ । यही २६ गतेलाई भन्नुभएको छ । हेरौँ अब के हुन्छ ।’
चितवन राप्ती नगरपालिका–२ गढौलीकी २६ वर्षीय सुनिता सिलवालको ठूलो आन्द्रामा समस्या भएपछि शल्यक्रिया गर्नुपर्ने भएको छ । त्यसको लागि उहाँ वीर अस्पताल आउनु भएको हो । उहाँले पहिले चितवनको क्यान्सर अस्पताललगायत अरु अस्पतालमा पनि देखाउनु भएको थियो ।
त्यसबेला पाँच वर्षसम्ममा जहिले शल्यक्रिया गरे पनि हुन्छ भन्ने कुरा थियो डाक्टरहरुको तर, समस्या बढ्दै गएर अप्ठेरो भएपछि उहाँले पछिल्लो पटक चैत २८ गते वीर अस्पतालमा जाँच गराउनु भएको थियो । पहिले उहाँलाई आउने भदौको समय दिइएको थियो शल्यक्रियाका लागि । तर, अहिले भने यही १९ गतेको समय उहाँले पाउनु भएको छ । सकेसम्म त्यही समयमा वा केही चाँडो हुन पनि सक्छ भनेर डाक्टरले भनेका छन् ।
उहाँको समस्या केही जटिल देखिएका कारण शल्यक्रियाको पालो चाँडो आएको हो । ‘पहिले हेरी चाँडो डेट आए पनि झण्डै एक महिनाको समय भनेको ढिलो नै हो । तर, यसलाई छिटै मानौँ,’ उहाँ भन्नुहुन्छ, ‘उहाँहरुले अरु ठूलो ठूलो केस अपरेशन गर्नुपर्छ । मेरो नजरमा मलाई मेरो रोग ठूलो लाग्छ । तर, अरुहरुको पनि ठूलो ठूलो रोग छ नि त । जे हुन्छ राम्रै हुन्छ भन्ने मानौँ ।’
वीर अस्पतालमा सामान्यतया शल्यक्रियाको समय पाउन कम्तीमा तीन महिनाको समय कुनुपर्छ । एकदमै जटिल प्रकृतिको समस्या छ र चिनजान छ भने बेग्लै कुरा, अन्यथा शल्यक्रियाको लागि तीन महिनाको समय भनेको सामान्य हो वीर अस्पतालको लागि ।
१ सय ३४ वर्षको इतिहास बोकेको देशकै पुरानो वीर अस्पतालमा दैनिक २५ सयभन्दा धेरै बिरामी आउँछन् । जहाँ सामान्य रुघोखोकी, ज्वरोदेखि अन्य जटिल प्रकृतिका शल्यक्रिया एवम् मृगौला मृत्यारोपण जस्तो गम्भीर खालका प्रत्यारोपणको काम पनि हुन्छ ।
सुलभ सेवामा गुणस्तरीय सेवाका कारण पनि वीर अस्पतालमा धेरै भिड हुने गरेको छ । यहाँ पाइने सेवाका लागि अन्य प्राइभेट अस्पताल जाने हो भने झण्डै तीन गुणा बढी मूल्य तिर्नुपर्छ । यसकारण पनि यहाँ देशका अति दुर्गमदेखि सुगम ठाउँ अनि अति न्यून आय भएकादेखि सम्पन्न मानिसहरुसमेत आउने गर्छन् । यसो हुँदा भिड बढ्नु स्वभाविकै हो ।
सर्वसुलभ र गुणस्तरीय सेवाका कारण वीर अस्पतालमा भिड बढेको बताउनुहुन्छ अस्पतालका निर्देशक सन्तोष पौडेल । उहाँ भन्नुहुन्छ, ‘हामी सर्वसुलभ सेवा दिइरहेका छौँ र अहिलेको नेपालको सन्दर्भमा गुणस्तरीय सेवा दिने मध्येमा एक भएका कारण पनि भिड भएको हो । भिड वीर अस्पतालको परिचय जस्तै छ । भिड छ र त वीर अस्पताल छ ।’
अहिले अस्पतालले ९ वटा शल्यक्रिया कक्षबाट दैनिक ५०/५२ वटा सामान्य शल्यक्रिया गर्ने गरेको छ । जसमा अहिले पनि नाक, कान, घाँटी, हाडजोर्नी, युरोलोजी तथा ग्यास्ट्रो सर्जरी हुने गरेको छ । अस्पतालले आइतवार र बुधवार हप्तामा दुई पटक डायलसिस पनि गर्ने गरेको छ ।
शल्यक्रियाका लागि नाक, कान, घाँटीका लागि एक हप्ता अथवा १० दिन त्यस्तै हाडजोर्नीका लागि झण्डै १५ दिन युरोलोजी तथा ग्यास्ट्रो सर्जरीका लागि भने अलि समय लाग्ने गरेको उहाँ बताउनुहुन्छ । मृगौला प्रत्यारोपण, कार्डियाक तथा न्यूरोलोजी अनि अन्य जटिल प्रकृतिका शल्यक्रियाका लागि भने तीन महिनाभन्दा बढीको समय लाग्ने गरेको छ ।
अस्पतालले अहिले ९ वटा मात्र शल्यक्रिया गरिरहेकोमा छिटै अरु ६ वटा शल्यक्रिया कक्ष सञ्चालन गर्न लागेको निर्देशक पौडेलले बताउनु भयो । यसका लागि अस्पतालसँग पर्याप्त मात्रामा डाक्टर रहेको तर, नर्सिङ जनशक्तिको भने अभावका कारण शल्यक्रिया कक्ष सञ्चालनमा आएको छैन । त्यस्तै ६ सय ६० शय्यामा हाल चलिरहेको अस्पतालसँग अरु ३ सय शय्या सञ्चालनका लागि तयारी अवस्थामा रहेपनि त्यो पनि नर्सिङ जनशक्ति नभएका कारण सञ्चालनमा आउन सकेको छैन ।
आफू निर्देशककारुपमा आएपछि बिहान ८ बजेदेखि काट्दै आएको टिकट ७ बजेदेखि काट्न सुरु गरेको र ओपीडी पनि बिहान ९ बजेदेखि सुरु गरिएको बताउनुहुन्छ पौडेल । अस्पतालको सेवा छिटो, छरितो बनाउनका लागि बिहान, बेलुका ‘पे क्लिनिक’ सुरु गर्न लागेको पनि पौडेलले बताउनु भयो । यसले गर्दा अरु बिरामीले छिटो पालो पाउने अस्पताल प्रशासनको विश्वास छ ।
अस्पतालमा अहिले खट्किरहेको नर्सिङ जनशक्ति व्यवस्थापनको लागि लोकसेवामार्फत गएको फागुन १३ गते ३ सय नर्सको लिखित परीक्षा भइसकेको छ । अबको एक महिनामा पदपूर्ति भइसक्ने तथा १५ वटा शल्यक्रिया कक्ष चाँडै नै सञ्चालनमा आउने पनि अस्पतालले जनाएको छ ।
नर्सिङ जनशक्ति थपिएपछि अब बिरामीले छिटै नै शल्यक्रियाको समय पाउने तथा अहिले भइरहेको टिकट काट्ने ठाउँ, ल्याब र फार्मेसीलाई विभिन्न फरक ठाउँमा व्यवस्थापन गरेपछि भिड स्वतः व्यवस्थापन हुने पनि निर्देशक पौडेल बताउनुहुन्छ । साथै वीर अस्पतालले अब चाँडै नै आगोले पोलेको उपचार पनि सुरु गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्दा बिरामी तथा आफन्तले भोग्ने मानसिक तनाव त छँदैछ सँगसँगै आर्थिक भार पनि थपिन जान्छ । छिटो गर्नुपर्ने शल्यक्रियाका लागि बिरामीले जसरी भए पनि महँगो शुल्क तिनुपर्ने हुन्छ ।
शल्यक्रियाको तयारीका लागि भनेर अन्य जाँच गर्न आउनु भएकी चितवन गढौलीकी सुनिता सिलवाल भन्नुहुन्छ, ‘हुनत उहाँहरुको पनि समस्या होला । गर्दै गर्नु पनि होला । तर, बिरामी त उहाँहरुले गर्दै हुनुहुन्छ भनेर कुरेर बस्न सक्दैन । यसैले अस्पतालले शल्यक्रियाका लागि छिटोभन्दा छिटो समय दिने व्यवस्था मिलाउनु पर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।