'स्ट्रिट फुड' अखबारमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारकाे तयारी

 वैशाख १९, २०८० मंगलबार १४:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टेड पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू प्रिन्टेड पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि बनाउन सुरु गरेकाे बताउनुभएको हो । आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सस्तो र मिठो हुने भएकाले 'स्ट्रिट फुड' को उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पार्नुभयो ।

महानिर्देशक वैद्यले 'स्ट्रिट फुड' र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि पालिकाहरूसँग मिलेर अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही सस्तो र मिठो खाजाको रूपमा चाहिँ स्ट्रिट फुड एउटा राम्रो विकल्प हो । सबै जनाले फाइन डाइनिङ मात्रै गर्न सक्दैनन् । त्यस कारणले स्ट्रिट फुड प्वाइजनिङ हुनु भएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । अखबारहरूमा चटपटे, पानीपुरीलगायत प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरू पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । प्रिन्टिङ पेपरमा खानेकुरा प्याक गर्दा प्वाइजनिङ हुने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसमा जनचेतना पनि जगाउने र खाद्य ऐन बमाेजिम क्रमशः यस्ता हानिकारक चिजहरूलाई प्रतिबन्ध लगाउन सक्छौँ ।’

खाद्य स्वच्छताका लागि 'स्ट्रिट फुड' र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया