यातायात कार्यालय सुकेधाराका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

 वैशाख १९, २०८० मंगलबार १६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध एक करोड रुपैयाँभन्दा धेरै भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।

तत्कालीन उपसचिव भट्टराईले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा एक करोड १५ लाख २९ हजार रुपैयाँको स्रोत नखुलेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

२०३८ सालदेखि २०७५ सालसम्म सरकारी सेवामा रहँदा भट्टराईले तलब भत्ता, श्रीमतीको तलब भत्ता, बाबुआमाको तलब र निवृतिभरण, सञ्चय कोष, लगानी कोष, शेयर, बैंक बचतलगायत सबै प्रकारका आम्दानी जोड्दा एक करोड ९२ लाख रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएकाे छ । तर भट्टराईकाे खर्च र सम्पत्ति तीन करोड सात लाख रुपैयाँ देखिएकाले आय र व्ययबीचको अन्तरको रकमलाई भ्रष्टाचार गरेको रकम मानेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ ।

भट्टराईको एक करोड १५ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको तथा जीवनशैलीसमेत अति उच्च खालको रहेको पुष्टि भएकाले कानुनअनुसार कैद सजाय र स्रोत नखुलेको रकम जफतको माग राखिएको पनि अख्तियारले जनाएकाे छ । स्रोत नखुलेको सम्पत्ति श्रीमती मुना भट्टराई, छोरा उत्सकु र छोरी प्रेरिका तथा मृत्यु भइसकेकी आमा इन्दिराका नाममा रहेकाले उनीहरू सबैलाई सम्पत्ति जफतका लागि प्रतिवादी कायम गरिएको पनि प्रवक्ता दाहालले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया