एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा फेरि सडक अवरुद्ध भएको छ । गणेश खोलामाथिको पुलमा फेरि भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो ।
दिउँसो १२ बजेदेखि यो खण्ड हुँदै पृथ्वी राजमार्ग भएर चल्ने गाडी रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।
अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडक हिजो बिहान १० बजे बल्ल एकतर्फी खुलाइएको थियो । १८ घण्टासम्म सडक अवरुद्ध हुँदा हिजो रातिसम्म नै जाम भएको थियो । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो । स्थानीयबासिन्दाका अनुसार अस्ति सोमबार सडक भासिएपछि ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको छ ।
सडक अवरुद्ध भएपछि प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौंडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् ।
यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौंडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।
पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडकखण्ड अवरुद्ध भए तराकारीदेखि खाद्यान्न र इन्धन ढुवानीमा समेत असर पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।