बिजुली गाडीकाे यस्ताे माया लाग्ने भए ट्रली बस किन मासेकाे ?

 कात्तिक ६, २०७५ मंगलबार १७:१०:४४ | अर्जुन पोख्रेल
unn.prixa.net

दुई वटा विद्युतीय बसको उद्घाटन हो, मेयरहरुले उद्घाटन गर्ने होलान् भन्ने कुरा मनमा खेलाउँदै साझा यातायातको मुख्यालय पुल्चोक जाँदै थिएँ ।

जावलाखेलबाट पुल्चोकतर्फ जाँदा लबिम मल अघिदेखि पुलिसको ताँती र ट्राफिकको सिट्ठी गुञ्जियो । पाटनतिर कुनै ठूलै कार्यक्रम हुन थालेको रहेछ भन्ने  लख काँटे । तर साझाको गेटतिर पुग्दा तर प्रहरीले झनै कानै खानेगरी सिट्ठी बजाइरहेका थिए । मोटरसाइकल पार्किङको लागि साझाको मुख्यालयतर्फ जान थालेको प्रहरीले कठालै समातौँला जस्तो गरेर रोके । 

मैले सोचेँ, २ वटा बसको शुभारम्भको अलावा यहाँ ठूलै कार्यक्रम  हुँदै रहेछ । प्रहरीले मोटरसाइकल घुमाउन नदिएपछि मन्त्री निवास जाने बाटोको गल्लीमा थन्काएर उत्सुक हुँदै साझातर्फ लागेँ । गेटदेखि रातो कार्पेट बिच्छाइएको थियो, बेलुन र फूलमालाले पुल्चोकको साझाको मुख्यालयलाई दुलही जस्तै सिँगारिएको थियो । वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, अर्थमन्त्री युवराज खतिवडालगायतका मन्त्री कार्यक्रमस्थलमा पुगिसकेका थिए । 
म चाहिँ गाडी शुभारम्भको अलावा अर्को कुन कार्यक्रमका लागि यो तामझाम होला भन्दै उत्सुक भैरहेको बेला माइकमा कार्यक्रम सञ्चालिका शिवानी थापाले भनिन्, ‘विद्युतीय बस उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउन केही बेर ढिलाइ हुने भएको छ, कृपया धैर्य गरेर बसिदिनुहोला ।’

उनको कुरा सुनेपछि पक्का भयो, यत्रो ठूलो तामझाम त २ वटा विद्युतीय बसको शुभारम्भ गर्न पो रहेछ त । प्रधानमन्त्री ९ बजे आउने कार्यतालिका भए पनि सवा १० बजेमात्रै उहाँको आगमन भयो ।

२ वटा बस उद्घाटनको लागि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नेपालका लागि चीनका कार्यवाहक राजदूत, दाता संस्थाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरी महानिरीक्षक, दुई वटा महानगरपालिकासहित विभिन्न नगरपालिकाका प्रमुख, विभिन्न दलका नेता, बुद्धिजिवी, समाजसेवीलगायत पुल्चोक पुगेका थिए । 

२ वटा बस उद्घाटन गर्न पुरै राज्यको उपस्थिति देखेर मन खिन्न भयो । समृद्धिका ठूला गफ हान्ने हामीहरु कुन हैसियतमा छौँ भन्ने कुरा प्रष्टै हुन्थ्यो । 

केही बेरमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरुले नेपालको यातायात क्षेत्रमा यो कोशेढुंगा सावित हुने भन्न भ्याए । प्रधानमन्त्री ओलीले त अब गाडीमा मात्रै होइन घरायसी काममा पनि विद्युतीय सामग्री उपयोग गर्नुपर्ने भन्दै ‘अब घरघरमा ग्यास पाइप होइन चुलोचुलोमा विजुलीका तार पुर्‍याउँछौं’ भन्दै कार्यक्रमस्थललाई ‘फ्रेस’  बनाउनुभयो ।

यस्तो माया लाग्ने भए ट्रली बस किन मासेको ?

काठमाडौं उपत्यकाको प्रदुषण कम गर्न र सार्वजनिक यातायातमा नागरिकको सहज र सुलभ बनाउन चीन सरकारले २०३२ सालमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस बनाइदिएको थियो ।  बा अ घ.... नम्बरका निलो रंगका बस  सहरको मध्यभागबाट गुडेका कम्ता आनन्द लाग्दैनथ्यो । न चर्को आवाज आउने, न धुँवा फ्याक्ने न त भाडा नै महंगो । 

ट्रली बस यस्तो मजाको साधन लाग्थ्यो कि, २०६३/६४ सालतिर कुनै काम नपर्दा पनि म ट्रली बस चढेको सम्झन्छु । 

जान्नेबुझ्नेहरुका कुरा सुन्दा २०४७ सालसम्म ट्रली बस मज्जाले चलेको थियो । भक्तपुर आउजाउको मुख्य साधन नै त्यही बस थियो । तर देशमा प्रजातन्त्र पुनःस्थापनासँगै ट्रलीबसको अधोगति सुरु भएको रहेछ । डिजल पेट्रोलबाट चल्ने गाडीको मिच्याइँ, सरकारको बेवास्ता  र बाटो विस्तारका कारण समस्यामा पर्दै गएको ट्रली बस २०६६ सालदेखि त इतिहासमै सीमित भयो । 

‘म नै भविष्य हूँ, मलाई बचाइराख्नुहोस् ।’ यस्तै गुहारका वाक्य लेखिएका ट्रलीबसका अस्थिपञ्जर अहिले पनि मिनभवनको यातायात व्यवस्था विभागको पछाडि देखिन्छन् । कहिलेकाहीँ विभागमा पुगेको बेला ट्रली बसका अस्थिपञ्जर र गुजुल्टिएका तार देख्दा देशलाई सिंगापुर बनाउछु भन्नेहरु र समृद्धिका गफ हान्नेहरुको अनुहार झल्झली सम्झन्छु ।

आज पुल्चोकमा प्रधानमन्त्रीको उपस्थितिमा ठूलो उत्सव नै गरेर २ वटा विद्युतीय बसको शुभारम्भ गर्दा मेरो मनमा लाग्यो, विद्युतीय गाडीको यस्तो विधि माया हुनेहरुले ट्रली बस किन मासेका होलान !

‘काम सानो हो तर सन्देश ठूलो छ’

२ वटा बस उद्घाटनको लागि प्रधानमन्त्रीसहितको त्यत्रो तामझाम देखेर खासखुस गर्नेहरु धेरै थिए । सायद मनको कुरा बुझेर होला प्रधामन्त्री केपी शर्मा ओलीले पनि यो सानो प्रयास भएपनि सन्देश र लक्ष्य भने ठूलो रहेको भाषण ठोक्नुभयो ।  

‘मैले यसलाई ठूलो प्रयास भन्दिनँ, यो सानो प्रयास हो तर यसले कार्वन उत्सर्जन न्यूनिकरण गर्न, जलवायु तथा वातावरणको रक्षामा योगदान पुर्‍याउन सहयोग पुर्‍याउनेछ, यसको सन्देश ठूलो छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ठूला कुरा पनि सानैबाट सुरु हुन्छन, ठूलो रुखको विरुवा पनि ठूलै जन्मन्न, सानै बेर्नाबाट ठूलो हुने हो, ठूलो मान्छे पनि बच्चा हुँदै ठूलो हुन्छ, हाम्रो प्रयास पनि सानो सुरुवात हो, यो पछि ठूलो हुनेछ ।’

प्रधानमन्त्रीको भाषणले पनि मेरो मनको खसखस रोकिएन । वातावरणविद् एवम् साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरलाई मैले सोधेँ, ‘२ वटा बस शुभारम्भको कार्यक्रममा पुरै राज्य आएको आभाष भयो, किन यस्तो गर्नुभएको हो ?’ तुलाधरले भन्नुभयो, ‘२ वटा बस भनेको सांकेतिक मात्रै हो, नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको सन्देश दिन खोजेका हौँ,  सार्वजनिक यातायातलाई विद्युतीकरणमा लैजाने बाटोमा जान खोजेको र सरकारले पनि एउटा कार्ययोजना बनाएको हुनाले हामीले संकेत मात्रै दिन खोजेका हौँ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

3 Comments

  • Bishnu Shrestha

    Oct. 24, 2018, 7:49 a.m.

    नेपाल मा विद्युतीय बस उत्पादन भएको भए के हुन्थ्यो होला? अर्काको देशमा उत्पादन भएको बसको बसको उत्घातन गर्दा यत्रो तामझाम किन?

  •  0 Reply
  • जयन्तराज गौतम

    Oct. 24, 2018, 6:56 a.m.

    आज २ वटा बस उद्धघाटन गरेको डि बि सामानों धरमा ३ वटा टिबी छनअरे भनेजस्तै मात्र हो

  •  0 Reply
  • नारायण भक्त श्रेष्ठ

    Oct. 23, 2018, 5:59 p.m.

    यो देश मा नंया काम को थालनी भएको छ तर अनावश्यक कुरामा लागेर बिरोध गर्नु पनित राम्रो हैननी पत्रकार्ज्यु।

  •  0 Reply

तपाईको प्रतिक्रिया