आर्थिक भार थपिएपछि चिडियाखानाका बाघ 'फास्टिङ' मा

 वैशाख ३०, २०८० शनिबार १८:४७:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

ललितपुर - जावलाखेलमा रहेको सदर चिडियाखानाले बाघको सङ्ख्या धेरै भएपछि बाघलाई हप्तामा एक दिन व्रत राख्न थालेको छ ।

सङ्ख्या थपिँदै जाँदा आर्थिक भार थपिएकाले प्रत्येक शनिवार बाघलाई व्रत अर्थात् ‘फास्टिङ’मा राख्ने गरेको र शनिवार बाघले पानी मात्र पाउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो । 

ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । 

एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार रुपैयाँ खर्च आउने सदर चिडियाखानाका कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले चिडियाखानामा १८ वर्षकाे बाङ्गे बाघ, १३ वर्षकाे महाराजा बाघ, १२ वर्षकाे बगौरा बाघ, ९ वर्षकाे प्रताप बाघ, ८ वर्षकाे जगती (पोथी) बाघ र ५ वर्षकाे महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् । 

कोइरालाले भन्नुभयो, 'सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिवार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।'

पाँच वर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको ज्यान गएकाे थियाे । 

बाघको आक्रमणबाट चन्दको ज्यान गएपछि, डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिएर वैशाख १० गते चिडियाखानामा ल्याइएको थियो ।

महारानीलाई अहिले क्वरेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ ।

अहिले प्रताप नामको बाघ र जगती नामको बाघलाई सँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वरेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया