वनमा आगो लगाएको आराेपमा २ जना पक्राउ

 बैशाख ३१, २०८० आइतबार १७:५१:४६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा सामुदायिक वनमा आगाे लगाएकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका ३ का विष्णु घिमिरे र झिले कुमाल रहेका छन् । 

इस्मा–३ अन्तर्गत रिठाबोट सामुदायिक वनमा आगो लगाएको आराेपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयाे । 

आगलागीका कारण आधा हेक्टर वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका बाेटबिरुवा जलेर नष्ट भएका छन् । स्थानीयले दिएको सूचनाका आधारमा दुई जना पक्राउ परेका बताइएकाे छ ।

वन ऐन २०७६ अनुसार वन क्षेत्रमा आगलागी गर्ने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिबाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत गोकुल कुमार सुनारले बताउनुभयाे । गएकाे दुई हप्ताअघि पनि इस्मामा जडीबुटी उद्यानमा आगो लगाएको आराेपमा डिभिजन वन कार्यालय गुल्मीले एक जनालाई पक्राउ गरेको थियो । 

गुल्मीमा यस आर्थिक वर्षमा २१ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको र आगो निभाउने क्रममा तीन जनाकाे ज्यान गएकाे सहायक वन अधिकृत मुना शर्माले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: जेठ ३१, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया