नीति कार्यक्रम बनिसक्यो, तर भनसुनको लागि सिंहदरबारमा उस्तै भिड

 जेठ ५, २०८० शुक्रबार ११:२२:२० | वैद्यनाथ पाैडेल
unn.prixa.net

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने बेलासम्म पनि सिंहदरबारमा बजेट र योजनाको लागि भन्दै मन्त्रालय धाउनेहरुको भिड उस्तै छ । धेरै भिड हुने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि पर्छ । मन्त्रालयले वैशाख १२ गतेसम्म योजना पेस गर्नका लागि सूचना निकालेको थियो । तर, अहिले पनि मन्त्रालयमा योजना बोकेर आउनेको कमी छैन । बिहीवार दिउँसो मन्त्रालय पुग्दा मन्त्री प्रकाश ज्वालाका कार्यालय सहयोगी ओमकार ओलीले भन्नुभयो, ‘अघि मात्रै एक जना हुम्लाको योजना बोकेर आउनु भएको थियो । मन्त्रीज्यू कार्यकक्षमा नभएर मात्र हो, उहाँ यहाँ हुँदा राम्रै भिड हुन्छ ।’

सरकारको नीति तथा कार्यक्रम तयार भैसकेको छ । शुक्रवार सार्वजनिक गर्ने तयारी छ । तर मन्त्रालयहरुमा अहिले सांसद तथा मन्त्रीहरुले आफ्ना सहयोगीमार्फत् योजनाहरु पठाउने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतका सहयोगी मन्त्रीसँग कुराकानी भइसकेको छ भन्दै सिन्धुपाल्चोकका लागि विभिन्न योजनासहितको खाम छोडेर गए । मन्त्री ज्वालाका कार्यालय सहयोगी ओली भन्नुहुन्छ, ‘सबैलाई काम गरेर देखाउने र मेरो कारणले, मेरो दौडधुपको कारणले बजेट आयो भन्ने देखाउनुछ ।’

अहिले मन्त्रालयहरुमा योजना लिएर आउने तथा योजना पर्यो कि परेन भनेर बुझ्न तथा प्रभाव बनाउन आउनेहरु धेरै छन् । यस्तोमा राजनीतिक नेता, कार्यकर्ता तथा आम नागरिक पनि छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक मल्ल पनि भौतिक योजना मन्त्रालयमा आफूले पेस गरेका योजना के भयो भनेर बुझ्न मन्त्रालयमा आउनु भएको छ । सल्यानकै मन्त्री भएको हुनाले योजनाका बारेमा चिन्ता नभए पनि केही बाटोहरु भने योजनामा नपर्ला भनेर अलि जोड गर्नुपर्ने भएका कारण मन्त्रालय आएको बताउनुहुन्छ मल्ल ।

उहाँ भन्नुहुन्छ, ‘अहिले यहाँ सिस्टमको हिसाबले लक भइसक्यो भन्ने नै छ । यति गर्दागर्दै पनि यी साथीहरुसँग पनि र मन्त्रीजीसँग पनि भेट गर्दा नछुटोस् है भनेर पसेको ।’

उहाँ दाङ–सल्यान सुरुङ मार्ग, राप्ती राजमार्ग, चौरझारी सडक, लान्ती तमाचो सडक, काप्रा सडक जस्ता थुप्रै योजनाको पहलका लागि आउनु भएको हो । जिल्लामा र आफ्नै पालिकामा बसेर राजनीति गर्नुपर्ने कारणले पनि बागचौर नगरपालिकाको खरिबोट, टाड्के कोटबारा, पातिहान्ना, बाबखोला, डलसिङेहुँदै रोल्पा सडकको योजनाको लागि मन्त्रालय आएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सिंगो देशको अर्थतन्त्र कमजोर भएको अवस्था छ । योजनाहरु पनि धेरै कटौती भएका छन् । तर, पनि सल्यानको यो रणनीतिक सडक भएका कारण र मन्त्री पनि सल्यानकै भएका कारण योजना त पर्छ होला । तर, पनि जोड त दिनै पर्छ ।’

खानेपानी मन्त्रालयमा पनि योजना बोकेर आउनेको लर्को नै देखिन्छ । आगन्तुक कक्षका सोफामा बस्ने ठाउँ छैन । यही भिडमा हुनुहुन्छ सर्लाहीको हरिपुर नगरपालिका–७ का रामनरेश यादव । उहाँ आफ्नो टोल चिताइनमा खानेपानीको पाइपको लागि भन्दैै हातमा निवेदन लिएर बसिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘टोलमा खानेपानीको लागि भनेर योजना लिएर आएको । हामीकहाँ पानीको समस्या छ । तर, यहाँ योजनाको समय सकिसक्यो भन्छ । तर, पनि निवेदन पेस गर्नुपर्याे भनेर बसेको ।’

खानेपानी मन्त्रालयको आगन्तुक कक्षमा हुनुहुन्छ सुनसरीको दुहवी नगरपालिका–२ का राजनीतिकर्मी तथा सांसद भगवती चौधरीका स्वकीय सचिव केशव सापकोटा । सांसद चौधरीले पेस गरेका योजना के भयो भनेर बुझ्न खानेपानी मन्त्रालयमा आउनु भएको छ । उहाँको क्षेत्रमा ट्युबवेलबाट पानी तान्नुपर्ने तथा ८० देखि ९० प्रतिशत नागरिक आर्सेनिकयुक्त पानी खान बाध्य भएका कारण तीन वटा पालिकामा खानेपानीको व्यवस्था गर्न भनेर योजना पेस गर्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीले आफ्नो व्यक्तिगततर्फबाट भन्दा पनि त्यहीँको स्थानीय तहलाई योजना दियो भने त्यहीँबाट कर्यान्वयन हुन्छ । योजना पारिदिनुपर्‍याे भनेर प्रस्ताव चाहिँ गरेको हो ।’

राजनीतिक पहुँच र व्यक्तिगत सम्पर्कबाट योजना प्रभावित हुने हुँदा बजेटको समय सुरु भएदेखि नै सिंहदरबारका मन्त्रालयमा भिड लाग्ने गरेको छ । बजेट र योजनाको लागि भनसुन गर्नुपर्ने बेला घर्किसके पनि आफ्नो योजनाका बारेमा मन्त्रीलाई भेटेर भन्न बसिरहनु भएको छ धनुषा मिथिला नगरपालिका–११ निवासी राजु कार्की ।

उहाँ तल्लो तुल्सी, चुरे, लोटाको करिब ४ किलोमिटर लामो कृषि सडकको स्तरोन्नतीको योजना लिएर आउनुभएको हो । समाजसेवी कार्कीले यसका लागि वडाबाट सिफारिश लिएर योजना पेस गर्नुभएको छ । तर, योजनामा बजेट विनियोजन नहुनसक्ने कारण उहाँ मन्त्रीलाई भेटेर यसका लागि पहल गरिदिनका लागि पर्खिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘सडक जीर्ण भएर बिरामी बोकेर लानुपर्दा पनि अप्ठेरो भएर योजना लिएर आएको । अब मन्त्रीजीलाई भेटेर योजनाका बारेमा भन्नुछ । चिनेजानेकाहरुको योजना पर्ने रहेछ । त्यही भएर पनि भेटेरै भन्नुपर्यो भनेर बसेको ।’


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया