गुल्मी दरबार नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घाेषणा

 जेठ ८, २०८० सोमबार ६:२५:१३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीकाे गुल्मी दरबार गाउँपालिका नेपालकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराउनुभएको हो । हिजाे आइतवार घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदश्य कार्कीले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिनुभयाे ।

गुल्मी दरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दर्घीकालीन योजना बनाउँदा पोषण तथा मातृ शिशु सेवालाई प्राथमिकता दिएको थियो । त्यही योजना र कार्यक्रमअनुसार गाउँपालिकाले स्थापनाकालदेखि नै स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गर्ने, नेपालमै पहिलो पटक एकीकृत पोषणसम्बन्धी 'कस्तो छ आमा' कार्यक्रमको सुरुवात, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयाे ।

गाउँपालिकाका प्रमुख सरोजकुमार थापाले नागरिकका स्वास्थ्यप्रतिका आशा पालिकासँग निकै बढी रहेको बताउनुभयो । पालिकालाई आफ्ना बजेटका सीमाका कारण नागरिकका सबै आशाहरू पूरा गर्न चुनौती रहेको भन्दै व्यवस्थित योजनामार्फत अभियानलाई निरन्तरता दिने विषयमा आफूहरू प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ ।

अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो । पाँच वर्षको निरन्तर प्रयासपछि अहिले गुल्मी दरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताउनुभयो । नियमित खोपतर्फ गुल्मी दरबार पूर्णखोप र कोभिड–१९ खोपमा पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य कार्यालयलका जनस्वास्थ्य अधिकृत बोम अर्याललगायतले पोषणमैत्री कार्यक्रमलाई दिगोरूपमा सञचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया