गाडीभाडामा मनपरी : सरकारले बल्ल घटायो, व्यवसायीले अझै घटाएनन्

 जेठ १३, २०८० शनिबार ६:५०:५७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

झापाका स्थायी बासिन्दा हरिप्रसाद शर्मा काठमाण्डौको कोटेश्वरमा बस्न थालेको करिब ४० वर्ष भयो । शिक्षण पेशामा आबद्ध शर्मा कतै आउजाउ गर्दा सार्वजनिक गाडी चढ्नुहुन्छ । सरकारले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएको ९ दिनपछि बाग्मती प्रदेश सरकारले बिहीबारदेखि काठमाण्डौ र प्रदेशभित्र चल्ने गाडीको भाडा घटायो । तर, शर्मा भने पहिले तिर्ने गरेको भाडामा आउजाउ गरिरहनु भएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस तथा ललितपुर चापागाउँको एक निजी विद्यालयमासमेत पढाउने शर्माले कोटेश्वरबाट लगनखेल आउँदा २० रुपैयाँ तिर्नुभयो । जबकि घटेको भाडादर अनुसार उहाँले १९ रुपैयाँ मात्र तिर्नुपर्थ्याे । 

उहाँले भाडा घटेको र त्यसै अनुसार सहचालकसँग पैसा फिर्ता पनि माग्नु भएको हो तर चानचुन छैन भन्दै उहाँले फिर्ता पाउनु भएन । उहाँ भन्नुहुन्छ, ‘घटेको भाडा त घटाउनै पर्छ एक/दुई रुपैयाँ भनेर हुँदैन । हामी कुनै पनि कार्यालयमा जाँदा एक/दुई रुपैयाँ पुगेन भने काम हुन्छ र ? जग्गा पास गर्न जाँदा  एक/दुई रुपैयाँ भएन भने पास हुन्छ र ?’ 

गोदावरीका बाबुकाजी महर्जन २३ वर्षदेखि गोदावरी–रत्नपार्क रुटमा गाडी चलाउनुहुन्छ । एक पटकमा झण्डै २२ जना यात्रु बोक्ने उहाँलाई भाडा घटेकोबारे थाहा छैन । 

‘डिजेलको भाउ घटेपछि अब भाडा घट्छ होला तर, अहिलेसम्म हामीलाई घटाएको चिठी आएको छैन’ पुरानो भाडादर देखाउँदै महर्जन भन्नुहुन्छ, ‘स्वचालित मूल्य प्रणाली भनेको छ । सरकारले घटायो भने घटाउने बढायो भने बढाउने हो ।’ 

सार्वजनिक गाडीले रुट अनुसारको भाडादर सबै यात्रुले देख्ने गरी टाँस्नुपर्ने, टिकट काउन्टरमा पनि सूची राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, धेरैजसो सार्वजनिक गाडीले भाडादरको सूची टाँस्ने गरेका छैनन् । 

सरकारले डिजलको भाउ बढाउँदा सरकारको निर्णय नै नकुरी भाडा बढाउने व्यवसायीहरुले अहिले सरकारले भाडा घटाउने निर्णय नै गरिसक्दा पनि भाडा घटाएका छैनन् । 

काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा अहिले एक रुपैयाँले घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । 

यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ । तर, बाग्मती बाहेक अन्य ६ प्रदेशमा भने छोटो दुरीको भाडा घटेको छैन । 

चालक महर्जनका अनुसार अहिले लगनखेलबाट सिंहदरबारसम्म २० रुपैयाँ लिने गरेको र रत्नपार्कसम्म भने २३ रुपैयाँ भए पनि चानचुन पैसा नहुने कारणले २५ रुपैयाँ लिने गरेको बताउनुहुन्छ । 

चानचुन पैसा फिर्ता किन नदिने भन्दा महर्जन भन्नुहुन्छ, ‘अहिले चानचुन पैसा साट्ने ठाउँ नै छैन । कहाँबाट साट्नु ? पेसिन्जर पनि अहिले त बुझ्ने भइसके । कोहीले भने किचकिच गर्छन् । कहिले हामी छा्ड्छौँ । कहिले उनीहरुले छोड्छन् ।’ 

यात्रुसँग एक रुपैयाँ मात्रै बढी भाडा लिएको थाहा पाए पनि समितिले पाँच हजार रुपैयाँ जरिबाना लिने भएकाले भाडा बढी नलिएको तर्क छ महर्जनको । उहाँ भन्नुहुन्छ, ‘अब दुई/चार दिनमा आउँछ होला समितिबाट त्यसपछि घटाउने हो ।’ 

सामान्यतया लगनखेल–रत्नपार्क रुटका माइक्रोबसहरुले एक ट्रिपमा २२ जना यात्रु बोक्छन् भने दिनभरीमा झण्डै १० ट्रिप जति गर्ने गर्छन् । यसरी रत्नपार्क आउजाउ गर्दा अहिले घटेको न्यूनतम भाडादरमा घट्नु पर्ने एक रुपैयाँको हिसाब गर्दा पनि माइक्रोहरुलाई सोझै ४ सय ४० रुपैयाँ फाइदा हुने देखिन्छ । अझ न्यूनतमभन्दा माथि दुई रुपैयाँ घट्नु पर्ने ठाउँको हिसाब गर्दा त्यो अझ बढी हुन आउँछ ।  

साझा यातायातले पनि अहिलेसम्म भाडादर घटाएको छैन । अहिले पनि साझाले न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको छ । साझा यातायातका रत्नपार्क–गोदावरी रुटका सहचालक राजु अधिकारी पनि साझा यातायातले अहिलेसम्म भाडा नघटाएको र न्यूनतम भाडादर २० रुपैयाँ नै लिइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म पनि हाम्रोमा २० रुपैयाँको नै टिकट दिने गरेको छ ।’

सरकारले बाग्मती प्रदेशमा छोटो दुरीमा भाडा घटाए पनि सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन सकेको छैन । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने भने पनि ती प्रदेशहरुमा भने नयाँ भाडादर कायम भएको छैन । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने हुन्छ । 

त्रिचन्द्र कलेजमा पढ्ने सिरहा मिर्चैया नगरपालिकाकी सवी साह लगनखेल बस्नुहुन्छ । कलेज आउजाउ गर्दा दुई पटक गाडी चढ्नुपर्छ । विद्यार्थीको परिचय पत्र भएका कारण उहाँले कलेजसम्म गएको १५ रुपैयाँ तिर्नुपर्छ । तर, अहिले भाडा घटिसक्दा पनि उहाँले भने १५ रुपैयाँ नै तिरिरहनु भएको छ । ‘भाडा घटेको होइन भनेर भन्दा होइन त्यति नै हो भनेर जिद्दी गर्छन् । अब बसेर कराइरहने कुरा पनि भएन,’ साह भन्नुहुन्छ । 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर डिजेलको भाउ घटेर सरकारले भाडा घटाए पनि यो वैज्ञानिक नभएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले सरकारले न्यूनतमा भाडादरमा एक रुपैयाँ घटाएकोले त्यो पैसा लिन पनि नमिल्ने अनि छोड्न पनि नमिल्ने भएको छ । 

उहाँ भन्नुहुन्छ, ‘अब अहिले न्यूनतम २० रुपैयाँबाट १९ रुपैयाँ कसरी लिनु ? फिर्ता दिने चानचुन पैसा नै हुँदैन । त्यसकारण सरकारले भाडादर समायोजन गर्दा यस्ता कुरामा पनि ध्यान पुर्याउनु पर्नेमा पुर्याएको देखिन्न ।’ 

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई बाग्मती प्रदेशमा छोटो दुरीको घटेको भाडादर बिहीबारदेखि नै लागू भएको बताउनुहुन्छ । यात्रु र गाडीवाला दुवै जिम्मेवार बनेर चानचुन पैसा बोकेर हिँड्न भट्टराईको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया