देशैभर आन्तरिक पर्यटकको ओइरो : पहाडमा गाडीको जाम, गाउँका होटल खचाखच

 कात्तिक ८, २०७५ बिहिबार १०:३९:८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं – ‘अहिले त मुस्ताङमा नेपाली पर्यटकको ओइरो नै लागेको छ, यस्तो होला भनेर त हामीले सोचेका पनि थिएनौं’ मुस्ताङमा कोल्ड डिजर्ट नामको होटल चलाउने दिनेश थकालीको भनाई हो यो ।

होटल खचाखच भएपछि उहाँलाई खुसीसँगै चिन्ता पनि सँगै थपिएको छ । थकाली भन्नुहुन्छ, ‘होटल खचाखच हुँदा खुसी त छौं, तर हामीले सोचेभन्दा निकै धेरै पर्यटक ओइरिएकाले कसरी राख्ने भन्ने चिन्ता पनि लागेको छ ।’

थकालीले भनेझैं यतिबेला मुस्ताङमा नेपाली पर्यटकको ओइरो नै लागेको छ । समूह बनाएर मोटरसाइकलमा जाने, कार र्‍याली गर्दै मुस्ताङ पुग्ने अनि मुक्तिनाथ दर्शन गर्नेहरुका  कारण यतिबेला मुस्ताङ आन्तरिक पर्यटकले भरिभराउ भएको छ । 

मुस्ताङ जाने पर्यटकका कारण म्याग्दीको बेनी र पर्वतको कुश्माका होटल पनि भरिएका छन् । ‘मुस्ताङ जानेहरुमध्ये धेरैजसो पर्यटक एकरात बेनीमा पनि बस्ने गरेका छन्, त्यसैले हाम्रा होटलमा पर्यटक राम्रै आइरहेका छन’ म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यससायी संघका अध्यक्ष बाबुराम आचार्यले भन्नुभयो ।

रारामा पर्यटक ओइरिए, तर होटल छैनन्

मुस्ताङ जस्तै रारा जानेहरुको पनि यतिबेला ओइरो लागेको छ । रारा घुम्न जानेहरुका कारण नेपालगञ्ज, सुर्खेत, दैलेख, कालिकोट हुँदै रारासम्मको होटल खचाखच छन् । कर्णाली राजमार्गमा रातदिन गाडीका लाम देखिन्छन् । स्थानीय उत्पादन बिक्री नहोला भन्ने चिन्तै छैन ।  तर होटल नहुँदा समस्या बढ्दै गएको छ । दैनिक ५ सय भन्दा धेरै पर्यटक रारा पुगे पनि रारा ताल परिसरमा जम्मा २ वटा मात्रै होटल हुँदा पर्यटकले दुःख पाउँदै आएका छन् । 

‘राज्यलाई होटल थपौं भन्दा मानेको छैन, अहिले रारामा होटल नपाएर पर्यटकको बिजोग हुन थालेको छ’ रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘नेपालीहरुले पहिल्यै सूचना दिँदैनन्, अनि होटल पाइएन भनेर दुखेसो पोख्छन्, रारामा होटल थप्नेबारे राज्यले सोच्नैपर्छ ।’

रारा तालमा जम्मा २ वटा होटल छन् । १/२ घन्टा परको मुर्मा गाउँ र बीचका केही ठाउँमा होमस्टे भएपनि पर्यटक खासै जाने गरेका छैनन् ।

होटल संघ नेपाल भन्छ – आन्तरिक पर्यटन नै हाम्रो आधार 

अहिले धेरै नेपाली पहिला देश घुमौं अनि मात्रै विदेश भन्दै देश घुमघाममा व्यस्त छन् ।  विशेषगरी रारा, खप्तड, मनाङ, मुस्ताङ, इलाम, पाथिभरा, भेडेटार, कालिञ्चोक, पोखरा, बन्दीपुर, लम्जुङ लगायतका ठाउँमा आन्तरिक पर्यटकको ओइरो नै लागेको छ । कोही बस रिजर्भ गरेर, कोही मोटरसाइकलमा धुलो उडाउँदै अनि कोही कारको र्‍याली गर्दै देशका मनोरम स्थलको घुमघाममा व्यस्त छन् । आन्तरिक पर्यटकको घुँइचोका कारण गाउँदेखि सहरसम्मका होटल, खाजाघर तथा होमस्टे भरिभराउ छन् ।
 
नेपालीहरुले पनि विदेशीले जस्तै मनग्य पैसा खर्च गर्ने भएपछि पर्यटकीय सहरहरुमा नेपालीलाई नै लक्षित गरेर होटलहरु खोलिएका छन् । यसबाट नेपालको अर्थतन्त्र नै चलायमान भएको छ ।

होटल संघ नेपाल हानका महासचिव विनायक शाह भन्नुहुन्छ, ‘स्वदेशी पर्यटक बढ्नु भनेको हाम्रो अर्थतन्त्रको लागि निकै सकारात्मक कुरा हो, अहिले नेपालका धेरै पर्यटकीय गन्तव्यहरु आन्तरिक पर्यटकबाट धानिएका छन्, हाम्रो लागि भरोसा बनेका छन् ।’

वार्षिक ४० लाख आन्तरिक पर्यटक देश घुम्दै

नेपाल घुम्ने आन्तरिक पर्यटक ठ्याक्कै यति छन् भनेर कुनै पनि निकायले तथ्याँक राखेको त छैन । तर पर्यटन बोर्डको अनुमानमा वार्षिक ४० लाख आन्तरिक पर्यटकले देशका    विभिन्न ठाउँ घुम्ने गर्छन् । जबकी गएको वर्ष १० लाख विदेशी  पर्यटक मात्रै नेपाल आएका थिए ।

‘हामीले पनि ठ्याक्कै गन्न त सकेका छैनौं, तर बिभिन्न पार्क, केवलकार, धार्मिक क्षेत्र र बिभिन्न क्षेत्रका इन्ट्री रुटको डाटा हेर्दा वार्षिक ४० लाख आन्तरिक पर्यटकले नेपाल घुमेको अनुमान गर्न सकिन्छ’ नेपाल पर्यटन बोर्डका अधिकृत सुधन सुवेदीले भन्नुभयो, ‘पछिल्लो समय देश घुम्ने आन्तरिक पर्यटकको संख्याले हामीलाई निकै उत्साहित बनाएको छ ।’

यसरी बढे देशभित्रै घुम्नेहरु

नेपाल पर्यटन बोर्डले ‘पहिले देश अनि विदेश’  भन्ने नारा धेरै पहिले नै सार्वजनिक गरेको हो । यो नारा सुरुमा त प्रभावकारी हुन सकेन । तर पछिल्ला वर्षहरुमा भने यो ‘पहिले देश अनि विदेश’ भन्ने नाराले खुबै सार्थकता पाएको छ ।

हिजोआज बिभिन्न सिनेमामा देखाइने नेपालका लोभलाग्दा दृश्यहरुले पनि आन्तरिक पर्यटक तानेको छ । सिनेमामा देखिएका रमणीय र सुन्दर ठाउँ आफ्नै आँखाले हेर्नको लागि युवाहरु समूह बनाएर निस्कने गरेका छन् ।

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने प्रचारप्रसारले पनि आन्तरिक पर्यटन बढाएको छ । एकजना घुम्न गएर तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि ‘म पनि अर्को वर्ष यही ठाउँमा जान्छु’ भन्नेहरु धेरै भेटिन्छन् ।

यातायात, होटल र सुरक्षाको प्रत्याभूति पनि आन्तरिक पर्यटक बढाउने कारण हुन् । केही वर्ष अघिसम्म निकै विकट मानिएका मनाङ, मुस्ताङ, रारा, खप्तडलगायतका ठाउँमा अहिले गाडी पुगेका छन् । हिँड्नै परे पनि १/२ दिन भन्दा धेरै हिँड्नु पर्र्दैन । मुस्ताङ र रारा जाने पहाडका टुप्पामा त अहिले गाडीको जाम हुन थालेको छ ।

 ‘भनेको ठाउँमा पुग्ने गाडी पाइन्छ, होटल र होमस्टेको पनि कमी छैन, अनि सामाजिक सञ्जालदेखि अरु सञ्चारका टुलले गर्दा सानो समस्या पर्दा पनि तत्कालै समाधान गर्न सकिने भएकाले पनि आन्तरिक पर्यटक बढिरहेका छन्’ पर्यटन बोर्डका अधिकृत सुधन सुवेदीले भन्नुभयो । 

देशभित्रैका ठाउँ घुम्दा देशको बारेमा धेरै जान्ने बुझ्ने मौका पाइन्छ, अनि खर्च गरेको पैसा पनि देशमै रहन्छ । त्यसैले पनि आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया