विश्व कप छनोट तयारी अन्तर्गत नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा पनि नेपाल पराजित

 जेठ २७, २०८० शनिबार २०:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोटको तयारी अन्तर्गत दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३६ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका विस्ली बारेसीले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ नेपालका गुल्शन झा र ललित राजवंशीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले ३० र गुल्शन झाले २४ रन बनाउनुबाहेक अरुले राम्रो राम्रो ब्याटिङ गरेनन् ।

नेदरल्यान्ड्सका लोगन भान विकले ५ विकेट लिए । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल वेस्टइन्डिजसँग असार ७ मा हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग असार ९ मा खेल्नेछ । समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्व कपमा छनोट हुनेछन् ।

१३ देश सहभागी विश्व कप सुपर लिगको शीर्ष ८ मा रहेका आयोजक देश भारतसहित पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्लादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छनोट भइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया