विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

 जेठ ३०, २०८० मंगलबार २०:३८:२५ | रासस
unn.prixa.net

बाग्लुङ – घर–घरमै पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ । 

बाग्लुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । ‘चार–पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए’, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भन्नुभयो, ‘अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरूले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन् ।’ 

पहिला–पहिला मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक जानुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दुःख भए पनि अहिले लेक जान छाडिसकेका छन् । ‘पहिलाजस्तो पानी लिन जानुपर्ने, दाउरा घाँस लिन जानुपर्ने अवस्था छैन, श्रीमानले विदेशमा कमाउनुहुन्छ, त्यही पैसा खर्च गरेर सहरमा कोठा लिएर बस्नुभन्दा आफ्नै गाउँमा बस्न आनन्द छ, पहिला बसाइँसराइ गरेर गएकाहरू समेत गाउँमा सुविधा थप भएपछि फर्केका उदाहरण छन्’, मगरले भन्नुभयो ।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरू घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेका स्थानीय चक्रबहादुर रोकाले बताउनुभयो ।  रोकाका अनुसार गाउँबाट १० वर्षअघि बसाइँसराइ गरेर गएका चार परिवार फर्केर गाउँमा आएका छन् । 

‘सुविधाका लागि सहर जाने हो, सहरको सुविधा गाउँ आइसक्यो, आँखै अगाडिबाट लामो दूरीका बस नेपालका विभिन्न सहरका लागि छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लास्टिक टनेलमा तरकारी उत्पादन हुन्छ’, रोकाले भन्नुभयो, ‘अहिले २० वटा बाख्रा पालेको छु, ५० बोट कागती र ५० बोट सुन्तला हुर्कँदै गरेका छन्, गरिबहरू बसाइँसराइ गर्ने कुरै भएन, धनीहरूसमेत सहरको जस्तो घर गाउँमै बनाएर बस्न थाले ।’

रोकाले झिम्पा गाउँमै १० शय्याको पालिका अस्पताल निर्माण भइरहेको जनाउँदै स्वास्थ्य सेवासमेत दैलोमै पाइनेमा झिम्पा गाउँका बासिन्दा आशावादी छन् । तराईमा अहिले गर्मीले बस्न नसक्ने अवस्था हुँदा गाउँमा शीतल छ । झिम्पामा एक घर एक धारा निर्माण भएपछि खानेपानीको सुविधासमेत थपिएको छ । अव्यवस्थितरूपमा पानीको उपभोग गर्दै आएका झिम्पावासीलाई खानेपानीको सुविधा थपिएपछि बसाइँसराइ रोक्न झनै टेवा पुगेको हो ।

निसीखोला–४ झिम्पाका झन्डै एक सय घरमा गएको वर्ष गोर्खा वेलफेयर ट्रर्सले घर–घरमा धारा निर्माण गरेर खानेपानी वितरण गरेको हो । झिम्पा खानेपानी आयोजनामार्फत अहिले ९४ घरमा खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिनुभयो । ‘पानीको सङ्कट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्दथ्यो, अहिले मुहानमै शुद्धीकरणको व्यवस्था छ, पानीलाई प्रशोधन गर्नका लागि मुहानमै व्यवस्थापन भएपछि अहिले घर–घरमा खानेपानी वितरण हुन्छ’, रोकाले भन्नुभयो, ‘दुर्गम गाउँका रूपमा चिनिएको झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्ट्रिय राजमार्ग आएपछि फेरिएको छ, यहाँका नागरिकले विकासको महसुस गरेका छन् ।’ 

स्थानीय झजी बुढामगरले विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको बताउनुभयो । आम्दानीको स्रोत भए सुविधा खोज्न सहर जान नपर्ने बुढामगरले बताउनुभयो । गाउँमा अहिले आय आर्जनका लागि व्यावसायिक कागती खेती थालिएको छ । अहिले झिम्पा गाउँका घर–घरमै कागती खेतीको लहर आएको छ । यहाँका स्थानीय परम्परागत खेती छाडेर आयआर्जनका लागि कागती खेतीतर्फ आकर्षित भएको स्थनीय कागती किसान रेमबहादुर क्षत्रीले बताउनुभयो ।

क्षेत्रीका अनुसार अहिले एक घरमा १० कागतीका बोटदेखि चार सय कागतीका बोट लगाउनेहरू छन् । झिम्पा गाउँमा प्लास्टिक टनेलमार्फत समेत व्यावसायिक तरकारी खेती गर्न थालिएको हो । राष्ट्रिय सडकको पहुँच पुगेसँगै बजारीकरणको समस्या नभएपछि यहाँका बासिन्दा घाँस दाउरा छाडेर व्यावसायिक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षित भएका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया