बन्द भएका सरकारी वेबसाइटहरु खुल्न थाले

 असार ६, २०८० बुधबार ९:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हिजो विद्युत् आपूर्ति बन्द हुँदा डाउन भएका सरकारी वेबसाइटहरु खुल्न थालेका छन् । तर सबै वेबसाइट खुलिसकेका छैनन् ।

हिजो दिउँसो साढे १ बजे नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ट्रान्सफर्मरमा विस्फोट भएर विद्युत् आपूर्ति बन्द भएपछि केन्द्रमा विद्युत् सेवा रोकिएको थियो । 

केन्द्रमा रहेको जेनेरेटर पनि बढी तातेपछि विद्युत् सेवा ठप्प भएको र यसबाट केन्द्रका उपकरण बन्द भइ सरकारी वेबसाइटहरु डाउन भएका केन्द्रका सूचना अधिकारी सफल श्रेष्ठले जानकारी दिनुभयो।

विद्युतकाे समस्या भने हिजै समाधान भएको र सरकारी वेबसाइटहरु खुल्ने क्रम चलिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सबै वेबसाइटहरु एक एक गरी पुन संचालन गर्नुपर्ने भएकोले समय लागेको हो । आज सबै संचालनमा आइसक्छन् ।’

‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि वेबसाइट र अनलाइन मार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेका छन् ।

यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अवरुद्ध भएको थियो ।

अनलाइन मार्फत अत्यावश्यक सेवा दिइरहेका कार्यालयहरुको वेबसाइट संचालन गरिसकेको र बाँकीको पनि संचालन गर्ने काम चलिरहेको केन्द्रका सूचना अधिकारी एवम् उप–निर्देशक श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया