ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो

 असार ६, २०८० बुधबार ११:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो ।

कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिनुभयो । 

शनिवारदेखि वर्षासँगै आएको बाढी र पहिरोमा परी त्यस ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन् ।

पहिरोले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो ।

यसैबीच मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

मंगलवार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णयसमेत  गरेको थियो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया