पोखरा भ्रमणका लागि महानगरद्वारा चिनियाँ नागरिकलाई निम्तो

 असार ६, २०८० बुधबार १४:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रममा मेयर धनराज आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणको निम्तो दिनुभएको छ ।

कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनु भयो ।

यो उडानसँगै चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि उहाँले बताउनु भयो । उहाँले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’

त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताउनुभएको छ । 

उहाँले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताउनु भयो । उहाँले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समय समयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाउँदै लैजान सकियो भने विमानस्थल नियमित सुरु हुनसक्छ । मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया