नेपालमा युवा बेरोजगारी : परिणाम विकराल हुनसक्छ

 असार २१, २०८० बिहीबार १२:७:३४ | अविनाश गजुरेल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नेपालका लाखौँ उर्जाशील युवालाई एउटा अदृश्य सङ्कटले घेर्दै लगेको छ । बेरोजगारीको बढ्दो सङ्कटले युवापुस्तालाई अप्ठ्यारो पार्दैछ । जीवनमा के-के गरौँला भन्ने आकाङ्क्षा, उर्लँदो सिर्जनशीलता र दृढ सङ्कल्पले ओतप्रोत नेपाली युवाहरू उपयुक्त रोजगारीको खोजीमा अनेक कठिनाइको सामना गरिराखेका छन् । युवा बेरोजगारी सम्बन्धी पछिल्लो तथ्याङ्कले गम्भीर स्थिति देखाउँछ । औसत बेरोजगारीको तुलनामा युवा बढी बेरोजगार छन् ।

बेरोजगारीले युवाका सपना र आकाङ्क्षा मात्र कुण्ठित पार्दैन, राष्ट्रको विकास प्रयासलाई समेत कमजोर पार्छ । आजका युवामा गुमेको अवसर, खेर गएको सम्भावना र निराशाको भावना व्याप्त छ ।

नेपालको समग्र बेरोजगारी दर चिन्ताजनक देखिन्छ । पछिल्लो तथ्याङ्कले समग्र बेरोजगारी दर १० दशमलव ६ प्रतिशत (विश्व बैंक, २०२१) छ भन्ने देखाउँछ भने १५ देखि २९ वर्ष उमेर समूहका नेपालीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने युवा बेरोजगारी दर १९ दशमलव ४ प्रतिशत (केन्द्रीय तथ्याङ्क विभाग, २०२१) छ । युवा बेरोजगारीको यो तस्बिरले यो समस्या सम्बोधन गर्न तत्काल ठोस र प्रभावकारी कदम चाल्न ढिला गर्नु हुन्न भन्ने सन्देश दिन्छ ।

युवा बेरोजगारीका कारण

  • शिक्षा प्रणाली : हाम्रो अहिलेको शिक्षा प्रणालीले युवाहरूलाई रोजगार बजारले माग गरे अनुसार आवश्यक सिप र ज्ञान दिन सकिराखेको छैन । विश्वविद्यालयका पाठ्यक्रम र उद्योगका आवश्यकताबीच तालमेल नरहेको अवस्था छ । परिणाम, उच्च शिक्षाको प्रमाणपत्र हातमा लिएको एउटा शिक्षित युवाले व्यवहारमा काम नै जानेको हुँदैन ।
  • रोजगारीका सीमित अवसर : उपयुक्त रोजगारीको उपलब्धता एउटा चुनौती हो । जागिर वा काम खोज्नेहरूको बर्सेनि बढ्दो सङ्ख्याको तुलनामा अर्थतन्त्रका औपचारिक क्षेत्रमा रोजगारीका अवसरहरू सीमित छन् । यो असन्तुलनले गर्दा रोजगारीका लागि खुल्ने थोरै सङ्ख्याका पदहरूमा उच्च प्रतिस्पर्धा हुने गरेको छ । र थोरैले मात्र जागिर पाउँछन् ।
  • बजार र सिपबीच तालमेल : युवाहरूले सिकेको सिप र रोजगारदाताहरूले माग गरेको सिपबीच ठूलो भिन्नता छ । हाम्रो परम्परागत घोकन्ते शिक्षाका कारण अधिकांश युवामा उद्योगहरूलाई चाहिने विशिष्ट प्रकारका सिप र व्यावहारिक अनुभवको अभाव छ । यस्तो स्थितिमा रोजगारी पाउन गाह्रो हुनु स्वाभाविक हो ।
  • सहर र गाउँबीच असमानता : सहर र गाउँबीचको असमानताले युवा बेरोजगारी बढाइराखेको छ । रोजगारीका अवसरहरू प्रायः सहरी क्षेत्रमा केन्द्रित हुन्छन् । यसले गर्दा ग्रामीण युवाहरूको पहुँच शिक्षा, तालिम र रोजगारीका अवसरहरूमा तुलनात्मक रूपमा कम हुन्छ ।
  • उद्यमशीलताको अभाव : उद्यमशीलता रोजगारीको लागि महत्त्वपूर्ण पक्ष हो । तर, नेपालमा साधन-स्रोतमा पहुँच, उपयुक्त परामर्श र सहज व्यावसायिक वातावरणको अभावले उद्यमशील युवाहरू समेत निरूत्साहित भइराखकेका छन् ।
  • लैङ्गिक असमानता : व्यवहारमा हुने लैङ्गिक भेदभाव र केही सामाजिक कुरीतिहरूका कारण युवतीहरूका लागि कतिपय रोजगारीका अवसरहरू चुनौतीपूर्ण हुने गरेको छ । सीमित अवसर, पुरूष भन्दा कम ज्याला र शिक्षा तथा तालिममा समेत युवतीहरूको पहुँचमा अनेक बाधा छन् ।
  • राजनीतिक अस्थिरता नीतिगत अवरोध : राजनीतिक अस्थिरता र नीतिगत अवरोधले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा बाधा पुर्‍याउँछ । राजनीतिक अनिश्चितता, अपर्याप्त पूर्वाधार र असङ्गत नीतिहरूले लगानी र व्यवसाय विस्तारलाई निरूत्साहित गर्न सक्छ ।
  • आप्रवासन प्रतिभा पलायन : विदेशमा उपलब्ध राम्रा अवसरको आकर्षणले नेपाली युवाहरूलाई विकसित देश जाने र उतै बस्न प्रेरित गर्छ । बर्सेनि ठूलो सङ्ख्यामा शिक्षित तथा दक्ष युवा विदेशिँदा स्वदेशमा दक्ष जनशक्तिको अभाव हुन्छ ।

युवा बेरोजगारी बढाउने उपरोक्त कारक तत्वहरूलाई सम्बोधन गर्न शिक्षा प्रणालीमा सुधार गर्न, उद्यमशीलतालाई प्रोत्साहन, सिप विकास, र लगानी तथा रोजगारी सिर्जनाका लागि उपयुक्त वातावरण सिर्जना गर्नु जरूरी छ ।

युवा बेरोजगारीका परिणाम

युवा पुस्ताको ठूलो सङ्ख्या बेरोजगार हुनु कुनै पनि समाज र राष्ट्रका लागि दुर्भाग्य हो । युवा बेरोजगारीका परिणाम दु:खद् हुन सक्छ :

  • आर्थिक परिणाम : युवा बेरोजगारीले उत्पादकत्व घटाउने र सिर्जनशीलतालाई दबाउने स्थिति निर्माण हुनसक्छ । यसबाट आर्थिक वृद्धि र विकासमा बाधा उत्पन्न हुन सक्छ । युवाहरूले रोजगारी नपाउँदा अर्थ व्यवस्थामा उनीहरूको सम्भाव्य सिर्जनशील योगदान नहुन सक्छ ।

उदाहरणका लागि : युवा बेरोजगारीको उच्च दरको अर्थ जनसङ्ख्याको ठूलो अंशले देशको कूल गार्हस्थ्य उत्पादनमा योगदान गरिराखेको छैन भन्ने हो, जसले समग्र आर्थिक विकासलाई प्रभाव पार्छ ।

  • सामाजिक अशान्ति असन्तोष : युवा बेरोजगारीले बेरोजगार युवाहरूमा सामाजिक अशान्ति, असन्तोष र निराशाको भावना निम्त्याउन सक्छ । यसले सामाजिक तनाव, विरोध प्रदर्शन र हिंसात्मक कार्यहरूलाई प्रोत्साहन हुन सक्छ । आफूले चाहेको जस्तो बाटो हिँड्न नपाए पछि युवाहरूले आक्रोश व्यक्त गर्नु स्वाभाविक हो ।

उदाहरणका लागि : विगतमा बेरोजगार युवाहरूले राम्रो रोजगारीको अवसर माग्न मात्र होइन, राजनीतिक दलहरूलाई सत्तामा पुर्‍याउन समेत अनेकौँ आन्दोलन र हिंसात्मक गतिविधिमा संलग्न भएका छन् ।

  • गरिबी असमानता : युवा बेरोजगारीले गरिबी बढाउन र आयमा असमानता वृद्धि गर्न सक्छ । उपयुक्त र पर्याप्त रोजगारीको अभावमा युवा र तिनका परिवारले आधारभूत आवश्यकताका लागि समेत संघर्ष गर्नु पर्ने हुन सक्छ । यसले गरिबीको एउटा दुश्चक्र निर्माण हुन्छ र आयमा असमानता झन्-झन् बढ्दै जान्छ ।

उदाहरणका लागि : युवा बेरोजगारीको उच्च दरले गरिबको एक पछि अर्को पुस्ता सम्म गरिबी कायम रहने जोखिम हुन्छ ।

  • प्रतिभा पलायन : युवा बेरोजगारीको अर्को परिणाम प्रतिभा पलायन हो । आफ्नो योग्यता र चाहना अनुसारको रोजगारी स्वदेशमा नपाए पछि प्रतिभाशाली र दक्ष युवाहरू विदेशमा अवसर खोज्न थाल्छन् । यसरी मुलुक सिर्जनशील प्रतिभाबाट वञ्चित हुन्छ र आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन थप चुनौतीपूर्ण हुन्छ ।

उदाहरणका लागि : उच्च शिक्षा लिएका र दक्ष नेपाली युवाहरू राम्रो रोजगारीको अवसरको खोजीमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली देशहरू जस्ता देशहरूमा पलायन हुन रुचाउँछन् ।

  • सामाजिक मनोवैज्ञानिक प्रभाव : बेरोजगारीले युवा वर्गमा मानसिक स्वास्थ्य र आत्मसम्मानमा नकारात्मक प्रभाव पार्न सक्छ । उपयुक्त रोजगारीको अभावमा युवाहरूमा तनाव, डिप्रेसन जस्ता समस्या उत्पन्न हुन सक्छ ।

उदाहरणका लागि : बेरोजगार युवाहरूमा निराशा, असहायपन र सामाजिक अलगावको भावना व्याप्त हुन सक्छ ।

  • सामाजिक निर्भरता अपराध : युवाले लामो समयसम्म जागिर नपाउँदा परिवार र राष्ट्रको सामाजिक सुरक्षा प्रणाली माथि निर्भरता बढ्न सक्छ । यस्तो अवस्थामा अपराध दरमा वृद्धि हुन सक्छ । कतिपय युवा पैसा कमाउन अवैध क्रियाकलापमा संलग्न हुन सक्छन् ।

उदाहरणका लागि : रोजगारीको अवसरको अभावमा, कतिपय युवा पैसा कमाउन वा निराशाको कारण आपराधिक गतिविधिहरूमा संलग्न हुन सक्छन् ।

युवा बेरोजगारी र यसका डरलाग्दा परिणामहरूलाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण जरूरी हुन्छ । रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा र सिप प्रशिक्षणमा सुधार गर्ने, उद्यमशीलतालाई प्रोत्साहन दिने लगायतका कामहरू तत्काल थालिहाल्नु पर्छ ।

कसरी अन्त्य गर्ने युवा बेरोजगारी ?

युवा बेरोजगारी अन्त्य गर्न विभिन्न सरोकारवालाहरूबीच वृहत्त सहकार्य आवश्यक छ :

  • शिक्षा सिप प्रशिक्षण विस्तार गर्ने : शिक्षाको गुणस्तर र सान्दर्भिकतामा व्यापक सुधार गर्नु सबैभन्दा जरूरी छ । बजारको माग अनुसार पाठ्यक्रम अद्यावधिक गर्ने, व्यावसायिक तालिमलाई प्रोत्साहन गर्ने, व्यावहारिक सिप विकास गर्ने जस्ता कार्यक्रम लागू गरिनु पर्छ । शैक्षिक संस्था र उद्योगबीच साझेदारी गरेर इन्टर्नशीप, अप्रेन्टिसशीप र अन-द-जॉब प्रशिक्षणको सुविधाको व्यवस्था  गर्न सकिन्छ ।

उदाहरणका लागि : प्राविधिक विद्यालय र स्थानीय व्यवसायबीच सहकार्य गरी विद्यार्थीहरूलाई अनुभव र बजार सुहाउँदो सिप सिकाउन सकिन्छ ।

  • उद्यमशीलतालाई प्रोत्साहन : उद्यमशीलतालाई प्रोत्साहन दिएर स्व-रोजगारीका अवसर सिर्जना गर्न युवाहरूलाई अनेक तरिकाले मद्दत गर्न सकिन्छ । स्रोत साधनमा पहुँच, परामर्श, प्रशासनिक प्रक्रियामा सरलीकरण जस्ता कामहरू गरिनु पर्छ ।

उदाहरणका लागि : इच्छुक युवा उद्यमीहरूलाई आर्थिक सहयोग, परामर्श र प्रशिक्षण  दिने ।

  • सार्वजनिक निजी सहकार्य : अनुकूल व्यावसायिक वातावरण सिर्जना गर्न सार्वजनिक र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ । यस्तो साझेदारी अन्तर्गत साझेदारी, नीतिगत अन्तर्क्रिया, रोजगारी सिर्जना, लगानी तथा आर्थिक वृद्धिलाई प्रोत्साहन जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

उदाहरणका लागि : विशिष्ट खालका रोजगारीका अवसरहरू पहिचान गर्न र आवश्यक रणनीति तयार पार्न सरकारी प्रतिनिधि, उद्योगी र युवा प्रतिनिधि सम्मिलित विशिष्ट 'टाष्क फोर्स' स्थापना गर्न सकिन्छ ।

  • ग्रामीण विकास तथा कृषि प्रवर्द्धन : ग्रामीण विकास र कृषिमा लगानी थपेर ग्रामीण युवाका लागि रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ । कृषि स्रोतमा सहज पहुँच, आधुनिक कृषि प्रविधि प्रवर्द्धन र कृषि उत्पादनको उचित बजारीकरण जस्ता काम गरिनु पर्छ ।

उदाहरणका लागि : युवा कृषकहरूलाई तालिम, ऋणमा सहज पहुँच र बजारीकरण जस्ता कार्यक्रम सञ्चालन गर्ने र युवाहरूलाई व्यावसायिक कृषि तर्फ प्रोत्साहित गर्ने ।

  • प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रोत्साहित गर्ने : प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत् आर्थिक वृद्धिलाई गति दिन सकिन्छ जसबाट रोजगारीका अवसरहरू सिर्जनामा मद्दत मिल्न सक्छ । लगानी अनुकूल वातावरण, सहज प्रशासनिक प्रक्रिया जस्ता अनेक काम गरेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ ।

उदाहरणका लागि : विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न र रोजगारी सिर्जना गर्न विशेष आर्थिक क्षेत्र वा औद्योगिक पार्क स्थापना गर्न सकिन्छ ।

  • श्रम बजार सूचना प्रणाली : श्रम बजार सूचना प्रणाली सञ्चालन गरेर जागिर खोज्ने र रोजगारदाताबीच सम्पर्क माध्यम बनाउन सकिन्छ । नयाँ जागिर खुलेको सूचना, कस्तो सिप भएका मान्छे चाहिएको हो लगायतका जानकारी राखेर सहजीकरण गर्न सकिन्छ ।

उदाहरणका लागि : अनलाइन प्लेटफर्म, जागिरका पोर्टलहरू सञ्चालन गर्ने ।

  • युवा केन्द्रित नीति : रोजगारी सिर्जना र सिप विकासलाई प्राथमिकता दिने खालका युवा केन्द्रित नीति निर्माण र कार्यान्वयन गरेर युवाहरूको आवश्यकता र आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ ।

उदाहरणका लागि : युवा लक्षित रोजगार योजना बनाएर कार्यान्वयन गर्ने ।

माथि उल्लेखित कदमहरू सबै सरोकारवालाहरूको समन्वयमा कार्यान्वयन गरियो भने, नेपालमा युवा बेरोजगारीको समस्या धेरै मात्रामा समाधान गर्न सकिन्छ । यसो गर्दा युवाको क्षमता र दक्षतालाई राष्ट्र विकासमा उधिकतम् उपयोग गर्न सकिन्छ ।

युवा बेरोजगारीका चुनौती बहुआयामिक छन् । यो समस्या सामाजिक, आर्थिक, राजनीतिक लगायत अनेक पक्षसँग जोडिएको छ ।

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै युवा बेरोजगारी जति सुकै जटिल भए पनि यसको समाधान गर्न अनेक उपायहरू पनि छन् । हाम्रो शिक्षा प्रणालीलाई गतिशील र उद्योग-सान्दर्भिक बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, लगानी तथा नवीनताका लागि सहजीकरण गर्ने  जस्ता कदम चालियो भने हाम्रा युवाको भविष्य उज्ज्वल बनाउन सकिन्छ ।

सन्दर्भ सामग्री :

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अविनाश गजुरेल

स्नातकका विद्यार्थी अविनाश गजुरेल थ्रीडी एनिमेसनमा रूचि राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया