मादल बनाएर लाखाैं आम्दानी !

 कात्तिक ११, २०७५ आइतबार १५:१७:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीया रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ ।

बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजार लाइनमा रहेको हुलाकी मादल पसलमा आएर दिनभर मादल बनाउने काममा व्यस्त हुनुहुन्छ उहाँ ।

मादल बनाएर उहाँले राम्रो आम्दानीसमेत गर्दै आउनु भएको छ । मादल बनाएर वार्षिक रुपमा उहाँले २ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ ।

पन्ध्र वर्षदेखि मादल बनाउँदै आउनुभएका रामप्रसाद नेपालीको गुजारा यही पेशाबाट चल्दै  आएको छ ।

नेपालीका अनुसार सिजनमा अलि धेरै कमाइ हुन्छ । यतिखेर मादलको माग धेरै हुने गरेको नेपालीले बताउनुभयो । तिहारसँगै चाडपर्वको समय भएकाले अहिले उहाँलाई मादल बनाउन भ्याइ–नभ्याइ छ । 

अन्य समयमा भने मादल बनाउने काम कम मात्रामा आउने गरेको उहाँले बताउनुभयो । मादलका लागि प्रयोग हुने काठ नपाइने कारणले नयाँ मादल भने उहाँले  गोरखाबाट मगाउने गर्नुभएको छ ।

खिर्रो, मौवा, थमरी, सल्ला, साल, सिसौ, सिमलका काठबाट मादलको ढुंग्राे बनाइन्छ ।

साल, सिसौ बढी गरुंगाे हुने, सिमलको काठ रातमा ओसिने कारणले राम्रो नबज्ने तर खिर्रो, मौवा, थमरी, सल्लाका काठ भने मादलका लागि उपयुक्त हुन्छ ।
मादल बनाउन काठ, छाला, खरि आवश्यक पर्दछ ।

मादल बनाउँदै रामप्रसाद नेपाली

मादल हेरर उहाँले सानो मादलको पन्ध्र सयदेखि बढी र ठूलो मादलको पचपन्न सयसम्म लिने गर्नुभएको छ ।  पुरानो मादलमा खरी हालेको रु ६ सय पचासदेखि पन्ध्र सय रुपैयाँसम्म लाग्ने उहाँले बताउनुभयो ।

काठबाहेक छालासहित मर्मत गर्दा पन्ध्र सय रुपैयाँदेखि पाँच हजार पाँच सय रुपैयाँसम्म लाग्न सक्छ । एक दिनमा दुईवटा मादल बनाउन सकिने र खरी तयार भएमा ६ वटासम्म मादलमा खरी भर्न सकिने नेपालीले बताउनुभयो ।

अन्य पेशाभन्दा उहा“लाई अहिले यही पेशा सजिलो भएको छ । ‘यो काम गर्दा घामले पोल्यो भन्नु परेन, पानीले रुझायो भन्नु परेन’, नेपालीले भन्नुभयो, ‘भित्र बस्यो, काम गर्यो, मलाई यही सजिलो लागेको छ ।’

बुबाले मादल बनाउने काम गरेको हेर्दा हेर्दै उहाँले पनि यही काम सिक्नुभएकाे हाे  ।

‘हातमा भएको सीप यही हो, यसैमा रमाएको छु’, नेपालीले भन्नुभयो, ‘हातमा सीप भए यसै बेरोजगार भएर बस्नु पर्दैन रहेछ ।’

दुई छोरी, एक छोरा, श्रीमती र आफूसहित पाँचजनाको परिवार उहा“ले यही पेशाको कमाइले पाल्दै आउनुभएको छ । उहाँकी एउटी छोरीको विवाह भइसकेको छ भने अरु छोराछोरी अहिले विद्यालय तहको शिक्षा सकेर क्याम्पसमा अध्ययन गर्दैछन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया