एमालेलाई सरकारमा जान हताराे छैन : ओली

 असार २६, २०८० मंगलबार १७:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने सोच नबनाएकाे उल्लेख गर्नुभएकाे हाे । 

मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको बाग्मती प्रदेश सङ्गठन कमिटीको बैठकमा उहाँले एमाले सरकार बनाउने, जाेगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनुभयो । ओलीले आफ्नो पार्टी २०८४ सालको चुनावमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दाबी गर्नुभयाे । उहाँले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

ओलीले भन्नु भयो, ‘हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ । हामी ग्रासरुटमा लाग्यौँ । अब मिसन २०८४, मिसन ५१ पर्सेन्ट ।’

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले त्याे विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै त्याे समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकमाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको पनि बताउनुभयो ।

ओलीले इमान र निष्ठाका साथ देश र नागरिकको पक्षमा काम गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया