आन्दोलन र सहमतिमा रुमल्लिएको काठमाण्डौको फोहोर व्यवस्थापन

 साउन ३, २०८० बुधबार १०:५३:२३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज न्यौपानेको घर फोहोर फाल्ने गरिएको बञ्चरेडाँडाको करिब एकसय मिटर नजिकै छ । न्यौपानेका अनुसार फोहोर फालेपछि अहिले खोलामा लिच्चड बगेर पूरा कालो भएको छ । खोला चिनिँदैन । अलकत्रा बगे जस्तो कालो छ पानी । पानीको अभाव छ । पानीको अभाव भएका कारण चराउन लगेका बाख्रापाठाले त्यहाँको खोलाको पानी खान्छन् ।  चर्न गएका बाख्रापाठा पानी खाएपछि कतिपय त्यहीँ मर्छन् । 

‘बिहान ढोका खोल्ने बित्तिकै माहुरी जस्तै हरिया झिंगा आउँछन् । मकै बारीमा मकैका पातभन्दा धेरै झिंगा छन् । खोला वरिपरि रोपेको धानमा झिंगाले सबै पात खाइसक्यो, न्यौपाने भन्नुहुन्छ, ‘पाकेको खानेकुरा एक छिन राख्न पाइँदैन । झिंगा बसेर हैजा होला जस्तो हुन्छ । घरमा झिंगादेखि बाहेक केही पनि छैन ।’

यहाँ आएर एक दिन मात्र भए पनि बस्न उहाँको अनुरोध छ । उहाँ भन्नुहुन्छ, ‘बसेपछि बल्ल यहाँको वास्तविकता थाहा हुन्छ । त्यहीँ फोहोर बगेको खोलामा टेकेर ओहोरदोहोर गर्नुपर्छ । पुल छैन । अरु सुविधा छैन ।’

‘फोहोर र मानिस सँगै बस्न सकिएन । कि फोहोर राख्नुपर्यो । कि त मान्छेमात्र बस्नुपर्यो । हामीलाई यहाँबाट उठाएर अन्त व्यवस्थापन गर्नुपर्यो । हाम्रो माग यति त हो’ न्यौपाने भन्नुहुन्छ ।

न्यौपानेका अनुसार फोहोर फाल्ने भएपछि त्यसलाई व्यवस्थित तरिकाले फाल्नुपर्यो भन्ने हो । जग्गा अधिग्रहण गरेर यहाँका नागरिकलाई सही तरिकाले स्थानान्तरण  गर्नुपर्यो । रुख बिरुवा लगाउनु पर्यो । कमसेकम मान्छे बस्न योग्य हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीले आन्दोलन गरेर फोहोरका गाडी फर्काएका हौँ । हाम्रो उपाय केही नलागेर हामीले अनिश्चितकालका लागि बन्द गरेका हौँ । हामी फोहोर र मान्छे सँगै बस्दैनौँ । हाम्रो बाँच्न पाउने अधिकार हनन गर्न पाइँदैन । जबसम्म हाम्रो माग सम्बोधन हुँदैन तबसम्म हामी छोड्दैनौँ ।’

सोमवार स्थानीयको अवरोधका कारण फोहोर फाल्न गएका कुनै पनि गाडीले फोहोर फाल्न पाएनन् र फर्किएर आए । तर, महानगरले भने ३० ट्रक फाेहाेर खसािलएकाे बताएकाे छ । मंगलवार भने फोहोर फाल्ने गाडीहरु नै गएनन्।

यसअघि २०७९ साल जेठ २६ गते काठमाण्डौ महानगर र प्रभावित पालिका अर्थात् धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका वडाध्यक्षहरुबीच १८ बुँदै सहमतिसमेत भएको थियो । सहमतिमा रातिमात्रै फोहोर फाल्ने, लिच्चड खोलामा नमिसाउने, क्यापिंग गर्ने, प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गर्ने, प्रभावित क्षेत्रको पहिचानपछि अधिग्रहण तथा मुआब्जा वितरणलगायतका कुरा छन् ।

तर, १८ बुँदे सहमतिमा हस्ताक्षर गर्ने धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङ भने सहमतिका कुनै बुँदामा पनि काम नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले बञ्चरे ल्याण्डफिल साइट वरपर दुर्गन्ध फैलिएर बस्नै नसकिने अवस्था भएपछि त्यहाँका स्थानीयले फोहोर फाल्न अवरोध गरेका हुन् । यसमा वडा तथा पालिकाको कुनै भूमिका छैन ।’

उहाँ भन्नुहुन्छ, ‘सम्झौता मात्र भयो । सम्झौता अनुसार कुनै काम भएन । कि हामीलाई मारिदे कि हामीलाई सारिदे भन्ने ब्यानर राखेर उहाँहरु आन्दोलनमा हुनुहुन्छ ।’

अहिले आन्दोलनरत् स्थानीयको मुख्य माग भनेकै फोहोर र मानिस एकै ठाउँमा बस्न नसकिने भन्ने रहेको छ । ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे । फोहोर रहित मानव, मानव रहित फोहोर । फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन’ भन्ने नारा लेखिएको ब्यानर सडकमा राखेर स्थानीयले विरोध गरिरहेका छन् ।

धुनिवेशी नगरपालिका वडा नम्बर १ का स्थानीय अमृत तामाङ यस अगाडि सहमतिका नाममा धेरै पटक स्थानीय बासिन्दालाई झुक्याएको बताउनुहुन्छ । सरकार तथा आफ्नै पालिकाले पनि सम्झौताका नाममा स्थानीयलाई धेरै पटक झुक्याएकोले अहिले भने स्थानीयहरु निर्णायक आन्दोलनमा लागेको पनि उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो अन्तिम लडाइँ हो । कि फोहोर राख्नुभएन कि मान्छे राख्नुभएन । फोहोर र मान्छे सँगै बस्न सक्दैनन् ।’

तामाङका अनुसार फोहोरका समस्या समाधान गर्न भनेर प्रधानमन्त्रीको स्तरमा पनि कुरा भयो । महानगर तथा शहरी विकास मन्त्रालयमा सम्झोता भयो । तर, कुनै पनि सम्झौता लागू भएन । यसकारण अहिले निर्णायक आन्दोलनमा उत्रनु परेको हो ।

‘बाउबाजेले फोहोरलाई विकाससँग साटेका थिए । विकास नै भएको पनि हुन्थ्यो । तर, अहिले त न विकास छ न स्वास्थ्य,’ उहाँ भन्नुहुन्छ, ‘त्यसकारण मान्छे र फोहोर सँगै बस्न सक्दैनन् । कि मान्छे राख्नुपर्यो कि फोहोर राख्नुपर्यो भन्ने हामी सबैको अन्तिम लडाइँ हो यो ।’

ल्याण्डफिल साइट वरपरका नागरिक फोहोरका कारण पटक पटक आन्दोलित हुने, आन्दोलनपछि सम्झौता हुने र, सम्झौता कार्यान्वयन भएन भनेर फेरि आन्दोलन हुने एउटा चक्र चलेको लामो समय भयो । २०७५ माघ यता मात्र झण्डै १० पटक आन्दोलन र सम्झौता भइसके ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ पटक पटक सम्झौता हुने र सम्झौता कार्यान्वयन नहुँदा अहिले स्थानीयहरु स्वतःस्फूर्तरुपमा आन्दोलनमा उत्रिएको बताउनुहुन्छ ।

तामाङका अनुसार अहिले आन्दोलनरत स्थानीयको मुख्य माग भनेको कि प्रदुषण रोक्नुपर्यो, कि मान्छे फोहोर भएको ठाउँमा बस्नु भएन, कि मान्छे भएको ठाउँमा फोहोर ल्याउनु भएन भन्ने हो ।

‘१८ बुँदे सहमति मात्र नभएर प्रधानमन्त्रीसँग भएको कुराकानीमा सम्बन्धित सबै मन्त्रालयका मन्त्रीहरुको उपस्थितिमा जग्गा अधिग्रहणदेखि व्यवस्थित तरिकाले फोहोर विसर्जन गर्नेसम्मको निर्णय भएको छ । त्यो कार्यान्वयन भन्ने छ,’ उहाँ भन्नुहुन्छ, ‘अर्को भनेको मुख्य प्रकोपकोरुपमा रहेको दुर्गन्ध र झिंगा नियन्त्रण गर्नुपर्यो भन्ने छ ।’

काठमाण्डौ महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार सोमवार ३० ट्रक फोहोर खसालिएको छ । मंगलवार भने कुनै पनि फोहोर बोकेका ट्रकहरु फोहोर फाल्नका लागि गएनन् । बुधवार पनि फोहोर बोक्ने गाडी गुडेका छैनन् । फोहोर फाल्नका लागि अवरोध भइरहेको छ।

उहाँ भन्नुहुन्छ, ‘उहाँहरुसँग कुरा त भइरहेको छ । तर, उहाँहरुको माग भने कि मानव बस्ती हटाउनुपर्यो कि फोहोर हटाउनुपर्यो भन्ने छ । त्यो माग त हामीले पूरा गर्नै सक्दैनौँ ।’

काठमाण्डौ उपत्यकामा झण्डै दैनिक एक हजार एक सय मेट्रिकटन फोहोर निस्कन्छ । काठमाण्डौ उपत्यकाका १८ वटा नगरपालिकाबाट निस्किएका सबै फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । ल्याण्डफिल साइटका स्थानीयले यसअघि २०७९ वैशाखमा फोहोर फाल्न अवरोध गरेपछि काठमाण्डौ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने बताएको थियो । जसमा कुहिने फोहोरको मल बनाउने, फोहोरको पुनः प्रशोधन गर्ने र बाँकी रहेको फोहोरमात्र ल्याण्डफिल साइटमा विर्सजन गर्ने कुरा थियो ।

यसका लागि काठमाण्डौ महानगरले फोहोरको स्रोतमा वर्गीकरण गर्नुपर्ने र वर्गीकरण नगर्नेलाई पाँच सय रुपैयाँ जरिबाना गर्ने जनाएको थियो । त्यस्तै आइतवार र बुधवार नकुहिने तथा सोमवार र शुक्रवार कुहिने फोहोर संकलन गर्ने सूचना जारी गरेको थियो । तर, अहिले काठमाण्डौ महानगरले आफूले घोषणा गरेका कुनै कार्यक्रम पनि कार्यान्वयन गरेको छैन । यसरी फोहोरको वर्गीकरण नगरी सबै फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लगेर फाल्ने हो भने २० वर्ष आयु रहेको बञ्चरेडाँडा चाँडै नै भरिने देखिन्छ ।

वातावरण विभागका निर्देशक श्रेष्ठ भने अहिले पनि महानगरले टेकुमा मल बनाउने गरेको बताउनुहुन्छ । तर, काठमाण्डौमा उत्पन्न हुने फोहोरको दाँजोमा त्यहाँ उत्पादन हुने मलको मात्रा भने अत्यन्त न्यून छ । त्यस्तै पुनःप्रयोग गर्न सकिने फोहोरका लागि महानगरले अहिलेसम्म केही गरेको छैन । तर, निर्देशक श्रेष्ठ भने सबै काम योजना अनुसार नै अगाडि बढिरहेको बताउनुहुन्छ । काठमाण्डौ महानगरले फोहोरको व्यवस्थित र दीगो व्यवस्थापनका लागि वैकल्पिक उपाय नअपनाउने हो भने ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण फोहोरको विर्सजनको समस्या बेला बेलामा आइरहने देखिन्छ ।

अन्तिम अपडेट: जेठ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया