फिर्के खोलाको सीमाङ्कन खोज्दै पोखरा महानगरपालिका

 साउन ४, २०८० बिहिबार १२:५२:५८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाङ्कन शुरु गरेको छ । सीमाङ्कन पछि मापदण्डमा परेका संरचनाहरु हटाउने महानगरको तयारी छ । पोखरा महानगरपालिकाले पूर्व निर्धारित मापदण्ड कार्यान्वयन गर्न नसक्दा फिर्केमाथि संरचनाहरु बनेका छन् ।

महानगरले प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा समिति गठन गरेर खोलाको पुरानो आकार र खोला बगेको बाटो खोज्न लागेको हाे । निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन खोलाको भागमात्र छुट्याउन थालिएको हो ।

पोखराका महानगरपालिका मेयर धनराज आचार्यले खोला सीमाङ्कनमा पिल्लर गाड्दै पहिलो चरणमा खोलाघर छुट्याउने र सिमेन्टको स्तम्भ राख्ने बताउनु भयाे । उहाँले पहिलो चरणमा सिमाना यकिन गर्न र दोस्रो चरणमा असोजपछि मापदण्डअनुसार दायाँबायाँ क्लियर गर्ने बताउनु भयाे । 

फिर्के मापदण्ड ५ मिटर कायम गर्दा व्यक्तिगत घर, सरकारी कार्यालय, विद्यालय र सामाजिक सङ्घसंस्था परेका छन् । तत्कालीन रिपोर्टमा १३ सामाजिक सङ्घसंस्था र ७ सरकारी कार्यालयसहित १ सय ९२ संरचनाहरु मापदण्डभित्रै पर्दछन् । मापदण्डमा परेका सबै संरचनाहरु भत्काउँदै जाने एमाले पोखरा महानगरपालिका संसदीय दलका नेता राधिका शाही योगीले बताउनुभयाे । उहाँले सबै दल मिलेर मापदण्डविपरीतका संरचना हटाउने बताउनु भयाे । 

महानगरले खोलाघर छुट्याएपछि फिर्केको सौन्दर्यकरण गर्ने योजना बनाएको छ । एसियाली विकास बैंक (एडीबी) काे सहयोगमा फिर्केको दायाँबायाँ साइकल लेनसहितको फुटट्रेल, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना महानगरकाे छ । हिउँदमा फिर्केमा पानी नहुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरको योजना छ । यो योजना सम्पन्न गर्न ६५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

तत्कलीन उपमहानगरपालिका हुँदा खोलाको मापदण्ड १ मिटर कायम गरेर त्यही आधारमा नक्सापाससहित घर बनेका छन् । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत पहारीको संयोजकत्वमा गठित समितिले फिर्केसहित बुलौँदी र बगादी खोलाको मापदण्ड १० मिटर प्रस्ताव गरेको थियो । त्यसलाई घटाएर ५ मिटर बनाउने महानगरको तयारी छ । पोखरा १८ अँधेरी कुनाबाट बगेको फिर्के खोला वडा २, ४, ५, ६ र ७ हुँदै फेवातालमा मिसिएको छ । फिर्केको बाटो खोज्न भने २०३२ सालको नक्सालाई आधार मानिएको महानगरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया