म्याग्दीमा ८० प्रतिशत मात्रै धान रोपाइँ

 साउन १६, २०८० मंगलबार १३:२५:१९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा र गोरुमा लम्पीस्किन रोग लागेका कारण म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रकोप फैलिएपछि साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाभर जम्मा ८० प्रतिशत खेतमा मात्रै धान रोपाइँ गरिएको हो । 

यसपटक समयमै किसानहरुले रोपाइँ गर्नका लागि पर्याप्त पानी नपर्नु, सिँचाइ सुविधाको उपलब्धता नहुनु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुनु र गोरुमा लम्पीस्किन रोग लागेको कारणले गर्दा रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । समयमै धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने भएकाले किसानहरु भने चिन्तित बनेका छन् । रोपाइँका लागि खासगरी जेठ र असार महिना उपयुक्त मानिन्छ । असारपछि रोपाइँ गरिए पनि उत्पादनमा भने कमी आउने किसानसँग अनुभव छ ।

साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाको बेनी नगरपालिका क्षेत्रमा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ भने मंगला गाउँपालिकामा ९० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताउनुभयो । यसैगरी अन्नपूर्ण गाउँपालिकामा ९५ प्रतिशत, रघुगङ्गामा ८५ प्रतिशत, मालिकामा ९० र धवलागिरि गाउँपालिकामा ९५ प्रतिशत धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा धेरै धान उत्पादन हुने गर्दछ । 

अहिले जिल्लाको माथिल्लो क्षेत्रमा रोपाइँ सकिएको भए पनि तल्लो तटीय क्षेत्रमा भने रोपाइँ भैरहेको किसानहरुले बताएका छन् । यता गण्डकी प्रदेशभर अहिलेसम्म ८२ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको छ । गएको वर्ष यो समयसम्म आइपुग्दा गण्डकीमा ९६ प्रतिशत भू–भागमा रोपाइँ भएको थियो । गण्डकीमा १ लाख ४ हजार ६ सय २२ हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्ने गरिन्छ । जसमध्ये अहिलेसम्म ८५ हजार ७ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा मात्रै धान रोपाइँ भएको छ ।

म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ भने खेतीयोग्य जमिन भएर पनि १३ हजार ३ सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएकोमध्ये जिल्लामा ३ हजार ८ सय ९० हेक्टरको जमिनमा धान खेती हुँदै आएकोमा गतवर्ष १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८४ प्रतिशत मात्रै सीञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।  

युवा जनशक्ति पलायन हुनु, धान खेती हुने ठाउँ खण्डीकरण तथा जग्गा प्लटिङ गरिनु र बिऊमलका लागि भारतको परनिर्भर रहनुपर्ने बाध्यताका कारण पछिल्लोपटक धान उत्पादनमा कमी आउन थालेको कृषि प्राविधिकहरु बताउँछन् । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेमा र बिस्तारै चैते धानको समेत उत्पादन वृद्धि गर्नसके म्याग्दी जिल्लामा धान उत्पादन बढाउन सकिने भएकाले यसबाट मसिना चामलको आयात घटाउन र मध्यम तथा मोटा चामलको निर्यात बढाउन सकिन्छ । 

म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानहरुले चासो देखाएका छैनन् । नदी किनारका फाँटहरुमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुक्खा धान १, २, ३ नामक जातको धान खेती समेत गर्ने गरिएको छ । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाई धान रोप्दै आएका छन् । म्याग्दीको पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ ।

म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरुमा धानखेती हुँदै आएको छ । ती क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । उच्च हिमाली क्षेत्र गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान खेती हुँदैन ।

कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको हो । म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बालीहरु रहेका छन् । 

युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा देश, विदेश तथा सहर पसेका कारण यतिबेला गाउँमा काम गर्ने क्रममा भने युवा जनशक्तिको अभाव देखिएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमुत्रको समेत अभाव झेल्न किसानहरु बाध्य छन् । सरकारले पनि कृषिमा यान्त्रीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याएपछि पछिल्लोपटक खेत जोत्नका लागि ट्याक्टरको प्रयोगमा भने किसानको आकर्षण बढ्दै गएको पाइन्छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया