सरकारले एक वर्षमा ८ सय २० किमी सडक कालाेपत्र गर्‍याे, २ सय २२ वटा पुल बनायाे

 साउन ३२, २०८० बिहीबार १५:४२:५४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको वर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डास्मित भएको विभागले जनाएको छ । गएको वर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकोमा पाँच सय ३८ किमी सम्पन्न भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झन्डै ६९ प्रतिशत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालु वर्ष समयमा  कामको प्रगति अझै बढाइनेछ ।’ अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन ।’ 

राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड  स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ । यो सडक खण्डमा तीन प्याकेजमा ठेक्का भएर काम शुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ । 

तमोर कोरिडोरअन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम शुरु भएको छ । ग्वार्खो ‘फ्लाइओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताका लागि सहमति माग गरिएको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया