पाेखरामा २३ वर्षपछि मनाइयाे बाघजात्रा (फाेटाेफिचर)

 भदौ २१, २०८० बिहिबार १०:८:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको छ । ‘जात्राहरुको पनि जात्रा’ भनिने बाघजात्रा यसअघि २०५७ सालमा मनाइएकाे थियाे । पोखरामा सोमवारदेखि शुरु भएको जात्रा पोखराको मुख्यमुख्य ठाउँमा देखाउँदै हिजाे रङ्गशालामा देखाएपछि सकिएकाे हाे । 

पहिलो दिन भदौ १८ गते साेमवार देखाइएकाे जात्रा नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छें हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो ।

अन्तिम दिन २० गते हिजाे मुख्य समापन समारोहका लागि नेवाः छेंबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै जात्रा रङ्गशाला पुगेको हाे । 

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् ।

बाघजात्रामा बाघलाई घेरामा हाल्ने प्रक्रिया नै यसको मुख्य आकर्षण हो ।जात्रामा बाघले गुरिल्लामाथि आक्रमणकाे प्रयास गर्दछ । जात्रामा शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाहरु हुन्छन् । उनीहरु बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् । 

अनेकखालका बाजाको धुनले बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ । यसैगरी जात्रा अघि बढ्छ । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा 'डमी बाघ' लाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरेपछि जात्रा सकिन्छ ।

बाघजात्रा पोखरामा कहिलेदेखि शुरु भयो यकिन नभए पनि बाइसेचौबिसे राजाको पालादेखि शुरु भएको किंवदन्ती छ । विसं १९९० देखि व्यवस्थित रुपमा देखाउन बाघजात्रा थालिएको जात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताउनु भयाे । 

कास्कीका छिमेकी जिल्लाहरुबाट समेत सांस्कृतिक टोली जात्रामा सहभागी हुनेगर्छन् । पोखराबाट पहिलो पटक बाघजात्राकाे शुरुआत भएको अनुमान छ । यस्तै, प्रकृतिको जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत जिल्लामा पनि एकदिन मनाउने  गरिन्छ । 

तस्बिर : सागरराज तिमिल्सिना र रासस

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया