ओलीकाे आराेप– ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ’

 भदौ २५, २०८० सोमबार १७:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।

आज साेमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डीएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतङ्ककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनुभएको हो । आतङ्कारीहरूलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भनेर डीएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको भनी प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्राेत्साहित गरिरहेकाे छ । कसैले सपरिवार मार्छु भनिराखेको छ तर सरकारले त्यस्ता मान्छेहरूलाई नियन्त्रणमा लिँदैन । अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, दुई/चार अगाडि नै खुकुरी हान्छु भनेको थियो । मान्छेहरूको नाम लिएर काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरूलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाब आक्रमणविरुद्ध कडा कानुन निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले तेजाब आक्रमणविरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसाविरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरूलाई पनि आग्रह गर्नुभयो । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यमहरू लाग्नुपर्ने बताउनुभयो ।

ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाबसमेत दिनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया