नेपाल र थाइल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता, नेपालका जुनसुकै विमान थाइल्याण्ड जान सक्ने

 कात्तिक १६, २०७५ शुक्रबार ९:२१:१८ | अर्जुन पोख्रेल

काठमाडौं – नेपाल र थाईल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाइल्यान्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने बाटो खुलेको छ । 

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।

यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।

नेपाली पक्षका  वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ  । 

नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थाइल्याण्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया