पहिरोले घरबारविहीन बनाएपछि

 भदौ २७, २०८० बुधबार १०:३:५४ | दमन राई
unn.prixa.net

खोटाङ – पहिरोले विस्थापित भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका चन्द्रबहादुर कार्की दुई वर्षदेखि दाजु बीरबहादुर कार्कीको जग्गामा घर बनाएर बसिरहनु भएको छ । अंशमा परेको १० रोपनी जग्गा स्थानीय ‘वासिराङ’ पहिरोले लगेपछि चन्द्रबहादुर दाजुको जग्गामा सरेर सानो झुप्रो बनाएर बस्न बाध्य हुनु भएकाे हाे । बारी लगेको पहिरोले घर पनि तान्न थालेपछि चन्द्रबहादुरको परिवार २०७७/०७८ सालमा विस्थापित भएकाे हाे । ‘आफ्नो नाममा जग्गा बाँकी रहेन,’ चन्द्रबहाहदुरले भन्नुभयो ‘अंश सबै पहिरोले लगे ।’

बान्तवा राई भाषामा ‘वासिराङ’ नामले चिनिने पहिरोका कारण त्यसै ठाउँका रणबहादुर कार्की तीन वर्षदेखि छिमेकी राजन बस्नेतको जग्गामा छाप्रो बनाएर बसिरहनु भएको छ । पहिरोले तीन रोपनी जग्गा लग्यो । क्रमशः घर नजिक पहिरो आएपछि कार्की विस्थापित हुनुभएको हो । ‘अहिले बसिरहेको ठाउँ पनि सुरक्षित छैन । तर यहाँ तत्काल पहिरो आइहाल्ने अवस्था नभएकाले त्रास कम छ,’ रणबहादुरले भन्नुभयो, ‘जाउँ भने कहाँ जानु, पैसा छैन । पहिरोले लगे पनि नलगे पनि पर्खेर बस्नै पर्‍यो।’

बलबहादुर नेपालीको अवस्था पनि उस्तै नाजुक छ । २८ रोपनी जग्गा हेर्दाहेर्दै पहिरोमा परिणत भयो । भएभरको जग्गा पहिरोले लगेपछि बटिया गरेर उहाँ आफन्तको घरमा बसिरहनु भएको छ । घरधनी अन्यत्र बस्ने भएकाले बलबहादुरले बटियामा बस्न पाउनु भएको हो । ‘तलबाट पहिरो निस्कँदैछ, माथि पनि पहिरो छ,’ बलबहादुर भन्नुहुन्छ, ‘माथिबाट पुर्ने हो कि, तलबाट लैजाने हो । डरमर्दो छ ।’

खोटाङको चर्चित र ठूलो वासिराङ पहिरो पीडितहरुको सूची लामो छ । साविकको बोपुङ–९ मा रहेको विशाल पहिरोको कारण दर्जनौँ घर विस्थापित भइसकेका छन् भने उत्तिकै जोखिममा छन् । सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भइसकेका छन् । सिरानमा साविकको बोपुङ–८ लाई छोएको पहिरोको उचाइ करिब तीन किलोमिटर र चौडाइ डेढ किलोमिटर फराकिलो बनिसकेको छ । हिउँद र वर्षा दुवै याममा चलिरहने भएकाले वासिराङ पहिरो स्थानीयका लागि टाउको दुखाइको विषय बनेको वडाध्यक्ष मस्तहाङ राई बताउनुहुन्छ ।

दायाँ–बायाँ र सिरानमा आकार फैलाउँदै गएको पहिरोले स्थानीय गोपाल राईको सात रोपनी बारी लगिसकेको छ । पहिरोले जमिन चलेका कारण गोपालको परिवार चर्केको घरमा ज्यान माया मारेर बसिरहेका छन् । ललितमान राईको आठ रोपनी जग्गा पहिरोले खाइसकेको छ । पहिरो घर नजिक आइपुगेको छ । उहाँ त्यही पहिरोको डिलमा बसिरहनु भएको छ । 

जगतबहादुर राईको १५ रोपनी जग्गा पहिरोमा परिणत भयो । घर नजिक पहिरो आए पनि उहाँ सुरक्षित ठाउँमा सर्न सक्नु भएको छैन । उत्तरमान राई, चतुरमान राई, कुमारसिं राई, भिषण राई, अर्जुन राई, जितबहादुर राई लगायतका स्थानीयको जग्गा पहिरोले कटान गरेको छ । उनीहरु पहिरोले टुक्र्याएको बारीको डिलमा बसिरहेका छन् । पहिरोले दानबहादुर राई, बुद्धिमान राई, दुर्गा राई, जसबहादुर राई र उत्तरमान राईको खेत क्रमशः पुरिँदै गएको छ । यस्तै, पहलमान दमाई, जमानसिं राईको जग्गा केही समयपछि नै पहिरोले तान्ने जोखिममा छ ।

पहिरोका कारण विजय आधारभूत विद्यालय, सिर्जनात्मक आधारभूत विद्यालय र सामुदायिक स्वास्थ्य इकाइ जोखिममा छ । विजय आधारभूत विद्यालय पहिरोभन्दा केही माथि थाप्लोमा छ । सिर्जनात्मक आधारभूत विद्यालय पहिरोको जोखिममा छ । गोर्खा वेलफेयरमार्फत् सञ्चालित छाङछङगे मुहान भएको खानेपानीको पाइप पहिरोले क्षतविक्षत बनाएको छ । अहिले पाइप जमिन बाहिरै लडाएर खानेपानी आपूर्ति गरिएको छ ।

बसाइँ सर्दै स्थानीय 

पहिरो फैलनेक्रम नरोकिएपछि बोपुङबाट बसाइँ सर्ने क्रम बढ्दो छ । पहिरोको पीरले स्थानीय शंकर कार्की छ/सात वर्षअघि बेलटार झरिसक्नु भएको छ । पहिरोले कार्कीको बारी बगायो । घरसम्म पहिरो आएपछि कार्की परिवार बसाइँ सरेका हुन् । जग्गा पहिरोले लगेपछि वर्ष दिनअघि मात्र कर्णबहादुर राई बेलटार बसाइँ सर्नुभएको हो । सुरेश राईको परिवार २०६५ सालतिरै उदयपुर झरिसकेका छन् । पहिरोले बारी लगे पनि घर भने अहिले पनि बाँकी छ । पहिरोका कारण प्रभावित क्षेत्रबाट हरेक वर्ष बसाइँसराइ भइरहेको वडा सदस्य सुरेन्द्र राई बताउनुहुन्छ । बसाइँ सरेर जान नसक्नेहरु जोखिम मोलेर बसिरहेका छन् ।

शुरुमा एउटै गाउँकारुपमा रहेको छुवाला र हिउराङलाई वासिराङ पहिरोले टुक्र्याएको छ । अहिले हिउराङ–छुवाला आवत–जावत गर्न पहिरोको सिरानबाट वा पुछारमा रहेको बुवाँ खोला तर्नुपर्ने बाध्यता छ । पहिरोका कारण एक गाउँबाट अर्को गाउँमा पुग्न डेढदेखि दुई घण्टा लाग्ने गरेको स्थानीय बताउँछन् । पहिले भरिभराउ गाउँ क्रमशः डाँडातिर सर्दै गएको छ ।

न सर्न तयार, न जग्गा लिन 

पहिरोबाट घरजग्ग्गाविहीन बनेका बोपुङका पीडितलाई राष्ट्रिय भूमि आयोगमार्फत् जग्गा उपलब्ध गराउने पहल गरियो । पहिरो पीडितलाई जग्गा दिलाउनका लागि प्राथमिकतामा राखेर फारम भरेर आवेदन दिन सूचना गरियो । तर उनीहरु जग्गा प्राप्तिका लागि आवेदन दिन तयार भएनन् ।

आफ्नो नामको लालपूर्जा र जग्गा सरकारलाई बुझाउनुपर्ने तर राज्यबाट जग्गा पाउने/नपाउने टुंगो नभएको आशंकामा पहिरो पीडितले आवेदन दिन मन नगरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राई बताउनुहुन्छ । ‘जग्गा प्राप्त गर्न दश वर्षअघिदेखि ऐलानी/पर्ती जग्गा उपभोग गरिरहेको हुनुपर्छ वा आफ्नो जग्गा जमिन काम नलाग्ने भएको कुरा जनाउँदै कार्यपालिकाबाट निर्णय गराएर आएको खण्डमा जग्गा उपलब्ध गराउने तहमा पुग्नुपर्ने हुन्छ,’ अध्यक्ष राई भन्नुहुन्छ,’ ‘यसका लागि आफूसँग भएको जग्गा जमिन सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । उहाँहरुलाई हामीसँग भएको जमिन राज्यलाई बुझायौँ तर राज्यबाट जग्गा नपाउँदै आयोग विघटन भयो भने भइरहेको जग्गा पनि गुम्छ भन्ने डर देखियो ।’

२०४१ सालको बाढी पहिरोका बेला सरकारले बोपुङका पहिरो पीडितलाई बर्दिया तारातालमा स्थानान्तरण गर्न प्रस्ताव गरेको थियो तर उनीहरुले अस्वीकार गरेका थिए । पहिरो पीडितको पुनर्स्थापना वडा वा पालिकाको सामर्थ्यभन्दा बाहिरको काम भएकाले सरकारले सोच्नुपर्ने वडाध्यक्ष राईले बताउनुहुन्छ ।

स्थानीयका अनुसार वासिराङ पहिरो करिब दुई सय वर्ष पुरानो नेपालकै ठूलो पहिरोमध्येमा पर्छ । टाढा–टाढाबाट समेत देखिने पहिरोको शुरुवातका विषयमा स्थानीय यकिन छैनन् । तर, विशाल आकार लिएकाले त्यस पहिरोलाई जिल्लाकै चिसापानी, बराहपोखरी, मौवाबोटे, पौवासेरा, उदयपुरका विभिन्न ठाउँबाट देख्न सकिन्छ । पहिरो केही वर्ष रोकिँदै पुनः जाने गरेको छ । पहिरो रोकिएको बेलामा उम्रिएको उत्तिसको रुख पुनः जाने पहिरोले पुर्ने गरेको छ । निरन्तर चलिरहने पहिरोले कटान गरेको ढुंगा र माटो झरिरहँदा बुवाँ खोला नै थुनिएको छ । पहिरोको पुछारमा रहेको खोलामा ढुंगा माटो थुप्रिँदा ठूलो खहरे बनेको छ ।

 

ठाउँ चिनाउने पहिरो 

वासिराङ पहिरो चर्चित भएकाले बोपुङका स्थानीयले आफूलाई चिनाउन गाउँको नामसँगै ‘वासिराङ’ पहिरोको नाम समेत जोड्ने गरेका छन् । वासिराङ पहिरो देखेका जो कोहीले बोपुङको नामलाईभन्दा पहिरोलाई याद गरिरहने भएकाले ठाउँको नामसँगै पहिरोको नाम जोडिन थालेको पूर्ववडाध्यक्ष गणेश बिष्ट बताउनुहुन्छ । ठाउँको नाम बताउँदा अलमलमा पर्ने व्यक्ति ठूलो वासिराङ पहिरो भएको गाउँ बताएपछि स्पष्ट हुने गरेको स्थानीयको अनुभव छ ।

अन्तिम अपडेट: साउन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया