विदेश पढ्न जाने मोह : पढाइसँगै सुरक्षित भविष्यको खोजी

 भदौ २७, २०८० बुधबार ११:२७:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

बाराको पचरौता नगरपालिकाका विकेश कुमार यादव त्रिभुवन विमानस्थलमा सुटकेश घिसार्दै हुनुहुन्छ । उहाँ मलेशिया जान लागेका आफ्ना दाइलाई बिदाइ गर्न विमानस्थल पुग्नुभएको हो । तर, एक्सेल बिजनेस कलेज बानेश्वरमा बिबिए दोस्रो सेमेस्टरमा पढ्दै गरेका यादवको सोच पनि पढाइ सकेपछि विदेश जाने नै हो ।

उहाँले नेपालमा खासै भविष्य देख्नुभएको छैन । पहिलो कुरो काम पाउन गाह्रो । काम पाइहाले पनि एकदमै थोरै पैसा भएका कारण त्यसले जीवन धान्नै गाह्रो । बढ्दो महँगीले बुवाआमाले छोराबाट जुन आशा गर्छन् त्यो पुर्‍याउन गाह्रो । झन परिवारमा कोही बिरामी भयो भने त्यसबेला उपचारका लागि कहाँबाट पैसा ल्याउने । यस्ता कुराले देशको माया गर्नुपर्छ, देशप्रतिको कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा केवल आर्दश लाग्छ यादवलाई ।

उहाँ भन्नुहुन्छ, ‘नेपालमा केही छैन जस्तो लागिरहेछ । विदेशमा पढ्न पनि सक्छु । काम गर्न पनि सक्छु । आफ्नो खर्च आफैँ चलाउन सक्छु ।’

नेपालमा पढ्दै कमाउँदै गर्ने अवसर छैन । अर्थतन्त्रमा अहिले त मन्दीको अवस्था छ । चाहेर पनि काम पाउन सक्ने अवस्था छैन । काम पाइहाले पनि पारिश्रमिक यति थोरै छ कि जस्ले गर्दा एक जनाले कमाएर एक जना पालिन पनि गाह्रो छ ।

यादव भन्नुहुन्छ, ‘नेपालमा खासै तलब पनि छैन । अर्थतन्त्र पनि राम्रो छैन । त्यही भएर विदेश जाने सोचिरहको छु । विदेशमा दुःख त छ तर पढाइ पनि हुन्छ । काम पनि हुन्छ ।’

उहाँजस्तै धेरै विद्यार्थीको अनुभव र सोच यस्तै छ । विदेशमा अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नो अब्जेक्सन लेटर (एनओसी) लिन हरेक दिन उस्तै भीड लाग्ने गरेको छ । गएको वर्ष विदेशमा अध्ययनका लागि १ लाख १० हजार २ सय १७ जनाले अनुमति लिए । मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको यो तथ्याङ्कले देखाउँछ नेपाली विद्यार्थीको विदेश अध्ययन मोह ।

जसमा सबैभन्दा धेरै अष्ट्रेलियाका लागि ३३ हजार ९ सय ९१ जनाले नो अब्जेक्सन लेटर   (एनओसी) लिएका छन् । त्यसपछि क्रमशः जापानका लागि २१ हजार ६ सय ५८, क्यानडाका लागि २१ हजार ५ सय ४४, बेलायत १० हजार ५ सय २७, अमेरिका ३ हजार ९ सय ७०, दक्षिण कोरिया ३ हजार ४६, दुबई २ हजार ३ सय ८९, भारत २ हजार १ सय ९७, न्युजिल्याण्ड १ हजार ८ सय ५५, फ्रान्स १ हजार २ सय ८२, डेनमार्क १ हजार ८५, रसिया ९ सय ६६ रहेको तथ्याङ्कले देखाउँछ ।

विद्यार्थीहरु पढ्न विदेश जानुका पछाडि पढाइ मात्रै कारण होइन । पढ्नका लागि त यहाँ पनि स्तरीय, राम्रो र विदेशका राम्रा विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजहरुको कमी छैन । तर, स्वदेशमा राम्रो कलेजमा पढ्दा खर्च धेरै हुने । पढाइपछि कामको कुनै सुनिश्चितता नहुनु । र, काम पाए पनि न्यून आयले खान, लाउनै गाह्रो हुने कारणले पनि विद्यार्थीहरु पढइको बहानामा सुरक्षित भविष्यको खोजी गर्दै विदेश गइरहेका छन् ।

यस्तैमा हुनुहुन्छ बनेपा नगरपालिकाका किरण न्यौपाने । उहाँ स्नातक पढ्नका लागि बेलायत जान लाग्नु भएको हो । यहाँ राम्रो र स्तरीय पढाइ हुने कलेज भए पनि भविष्य हेरेर विदेश अध्ययन गर्न जान लागेको उहाँको भनाइ छ ।

‘यहाँ पनि राम्रा पढाइ हुने कलेज पनि छन् । पढाइ मात्र हेरेर के गर्ने । भविष्यको कुरा हेरेर पनि आफूले विदेश रोजेको हो,’ न्यौपाने भन्नुहुन्छ, ‘एउटा त ट्रेन्ड पनि बनिरहेको छ बाहिर जाने । अर्को भनेको भविष्य नै हो ।’

विदेश गएर पढ्दै काम पनि गर्न पाइने हुनाले पैसा कमाउन पनि सकिन्छ । यसकारण पनि विद्यार्थी विदेश जान उत्साहित देखिन्छन् । तर, विदेश अध्ययन गर्न जानका लागि खर्च पनि कम हुँदैन । विदेशमा अध्ययनका लागि आर्थिक वर्ष २०७८/७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्क छ । यो रकम बढेर आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । एनओसीका लागि मात्र आर्थिक वर्ष २०७९/८० मा विद्यार्थीले २५ करोड १२ लाख रुपैयाँ खर्च गरेका छन् । सामान्यतया विदेश अध्ययन गर्न जाने विद्यार्थीले २० देखि ३० लाख रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । यति धेरै रकम खर्च गर्नुपरे पनि विद्यार्थीको विदेश जाने प्रवृत्तिमा भने कुनै कमी आएको छैन।

काठमाण्डौ कलंकीका हेमन्त शाह सूचना प्रविधिमा स्नातकोत्तर पढ्नका लागि बेलायत जाँदै हुनुहुन्छ । उहाँ पढ्न जान लागेको विषयमा काम गर्र्दै पढ्दै गर्न पाइने हुनाले आकर्षित भएको बताउनुहुन्छ । विदेशमा अवसर धेरै भएको हुनाले पनि उतै बसोबासको सम्भावनासमेत देख्नुहुन्छ शाह । 

‘अब यहाँ बसेर मात्र भएन । उता गए पढ्न पनि पाइने काम पनि गर्न पाइने । काम गरेपछि पैसा पनि यहाँको भन्दा राम्रै आउँछ । यसकारण पनि जान लागेको हो,’ उहाँ भन्नुहुन्छ, ‘अब अहिले बुबाआमा, परिवार छोडेर जानुपर्दा दुःख लागे पनि बिस्तारै उहाँहरुलाई पनि उतै समेटिन्छ । अब अहिलेको अवसर छोड्ने हो भने त धेरै पछि परिन्छ ।’

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया