सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

 भदौ ३१, २०८० आइतबार १९:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

आज दिनभर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा हेटौँडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ । सहमतिमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।

यस्तै ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने र मासिक रूपमा बैठक बस्ने तथा डाक्टरहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने क्रम कम गर्ने लगायतका काम गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको छ ।

सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाएर संवाद थालेको थियो ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षका राजेश प्रधानको उपचारको क्रममा ज्यान गएको भन्दै आफन्तले डाक्टरहरू विकास थापा र प्रशान्त बिराडीमाथि कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरे पनि चिकित्सक सङ्घले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीको बिचल्ली भएको छ ।

काठमाण्डौका वीर, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल लगायतका अस्पतालमा टिकट लिन बिहानैदेखि बिरामीको भिड लागेको भए पनि उनीहरू अबेरसम्म अस्पतालमै बसेर उपचार नगराई फर्कन बाध्य भए । तर सरकारी अस्पतालहरूबाट बिरामी फर्किरहेका भए पनि धेरैजसो निजी अस्पतालहरू भने चलिरहेका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया