सरकारलाई सत्ता टिकाउने बाहेक अरू फुर्सद छैन : केपी ओली

 असोज ९, २०८० मंगलबार १९:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताउनुभएको छ । नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको उहाँकाे जिकिर थियो ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रियामा ओलीले सत्ता टिकाउने बाहेक सरकारसँग अरू फुर्सद नै नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको चुनावसम्म पर्खँदा देशमा एउटा पनि उद्योग नरहने अवस्था आउने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । देशको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको ओलीकाे दाबी थियाे ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारकाे ध्यान सत्ता टिकाउनै केन्द्रित छ । कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने सरकारमा हुनेहरूलाई फुर्सद पनि छैन । अहिलेको अवस्थामा सामान्य हिसाबले हुने स्थिति छैन । सिटामाेल खाएर काम लाग्ने स्थिति छैन । अर्थतन्त्र जरैदेखि हल्लिएकाे छ तर याे सरकारले समाधान गर्न सक्दैन । कतिपयलाई यो अभिव्यक्तिले एमालेलाई सरकारमा जान हतार भएछ कि क्यो हो भन्ने लाग्ला । हतार होइन । एमालेलाई सरकारपट्टि वास्ता पनि छैन, चिन्ता पनि छैन । हामी मिसन २०८४ मा लागेका छौँ । तर हामी के देखिरहेका छौँ भने २०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग भन्ने चिज रहन्छ कि रहँदैन ।’

अध्यक्ष ओलीले व्यवसायीहरूका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । त्यसैगरी उहाँले व्यवसायीहरूबाट चर्को ब्याजदर नलिन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयाे ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया