'चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन'

 असोज १९, २०८० शुक्रबार १३:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महँगाे गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने तर गरेको छैन ।’ 

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक गाडीले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद सुवेदीले भन्नुभयो, ‘चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, यात्रु भाडामा ठगी हुने गरेको छ । बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा नागरिकले कसरीे दशैँ मनाउँछन् ? भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गर्नुभएको हो । उहाँले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २ सय ५० रुपैयाँ पुगेको बताउनु भयो । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीको लागि सरकारी र संस्थानका गाडीको प्रयोग गर्ने गरी प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया