उल्टो भएको शिक्षा विधेयकलाई एक वर्ष लगाएर भए पनि सुल्टो बनाउनुपर्छ : गगन थापा

 असोज १९, २०८० शुक्रबार १८:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनुभएको हो । उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनुभयो ।

थापाले विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनुभयो । उहाँले उल्टाे भएकाे विधेयकलाई वृहत् छलफल गरेर सुल्टो बनाउन जरुरी रहेको बताउनुभयो । शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५/२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्गदर्शन गर्ने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘विद्यालयमा पढिरहेको विद्यार्थीलाई पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ । अर्थात् त्यहाँभित्र प्रेरणा पनि छैन । ५० जना भन्दा कम विद्यार्थी भएको विद्यालयकाे सङ्ख्या छ हजारभन्दा बढी छ । विद्यार्थी र शिक्षक सम्पूर्ण रूपमा पुगेको विद्यालय सङ्ख्या छ सय वटा पनि पुग्दैन । अपेक्षा, अवस्था दुई वटै कुरा नहेरिकन यो विधेयक आएको छ । अब यसलाई सच्याउने संसद्को काम हो, हाम्रो काम हो । यो समितिमा जान्छ आज । समितिमा गएपछि हामीले हतार नगरि काम गर्नुपर्नेछ । दुई महिना लागोस्, पाँच महिना लागोस्, साथीहरूले जनतामा लैजानुपर्छ भन्नुभएको छ, समितिले पनि त्यो काम गर्नसक्छ । सबै सरोकारवालालाई बोलाउन सक्छ, छलफल गराउन सक्छ । उल्टो भएको विधेयकलाई वृहत् छलफल गरेर सुल्टो बनाउनुपर्नेछ । विद्यार्थीलाई केन्द्रमा राख्नुपर्नेछ । शिक्षण पेसालाई आकर्षक पेसा, मर्यादित पेसा बनाउनुपर्नेछ ।’

महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई सङ्घीयतासँग जोड्न आवश्यक रहेकाे बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया