इजरायलमा अलपत्र विद्यार्थीको उद्धार गर्न विश्वविद्यालयको अपिल

 असोज २२, २०८० सोमबार ७:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा युद्धको चपेटमा परी बेपत्ता र अलपत्र परेका आफ्ना विद्यार्थीको खोजी तथा उद्धारको लागि अपिल गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले विज्ञप्ति निकालेर उद्धार कार्यमा सहयोगका लागि नेपाल सरकार, कूटनीतिक नियोगहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलगायत अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको हो ।

विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा सिकाइ अनुभव बटुल्ने उद्दश्यले इजरायल सरकारको सिकाइसँगै आर्जन (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी गएको भदौमा इजरायल गएको उल्लेख छ । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गएको भदौमा इजरायल गएका हुन् ।

यस्तै चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी अहिलेसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।

विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालमा रहेको इजरायली राजदूतावास एवम् इजरायलमा नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजग रहन उनीहरुलाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया