उपभाेक्ता ठग्ने काम मबाट हुँदैन, बदमासी प्रमाणित भए तत्काल राजीनामा दिन्छु : मन्त्री रिजाल

 असोज २२, २०८० सोमबार २०:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ ।

आज सोमवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री रिजालले आफूले उपभोक्तामाथि बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताउनुभयो । चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै उहाँले आउँदा दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री रिजालले कालोबजारी गर्नेहरूलाई त्यहीअनुसारको दण्ड सजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो गर्नुभयो । उहाँले उपभोक्तामाथि ठगी गर्नेहरूलाई गरिएको दण्ड सजाय असुली गर्न सरकारसँग कुनै संयन्त्र नै नभएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘मैले कुनै दिन गल्ती गरेँ भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने म विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु । मबाट कमिसन खाने काम हुँदैन भन्ने विश्वास दिलाउन चाहन्छु । कालाेबजारी गर्नेहरूलाई कानुनी सजाय दिने अधिकार हामीसँग धेरै छैन । कानुनमा पनि परिमार्जन गर्नुपर्ने आवश्यकता हामीले देखेका छौँ । ठूला अपराधमा पनि तीन लाख रुपैयाँभन्दा धेरैकाे जरिबाना गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानुनको अभाव छ । उसले आएर दियो भने त ठिकै हो तर दिएन भने उठाउनका लागि कुनै संयन्त्र पनि बनिसकेको छैन ।’

बैठकमा सत्तारूढ दलका सांसदहरूले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आमउपभोक्तामा हित हुने गरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चाडपर्वमा चिनीजस्ता अति आवश्यक वस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरे पनि सरकारले उपभाेक्ताको चाहनाअनुसार सस्तो मूल्यका वस्तुहरू उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले मूल्यवृद्धि निरन्तरको प्रक्रियाजस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागिनपरेकाे गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया