बजारमा चिनी अभाव, थप आयात हुन सकेन : कालोबजारी गर्नेलाई कारबाही भएन

 असोज २४, २०८० बुधबार ७:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो ।

कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दाबी थियो । तर, दाबी गरिएअनुसार चिनीको आयात हुन सकेको छैन भने कालोबजारी गर्नेलाई पनि कारबाही भएको छैन ।

व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाइँदैन । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीमा रहेको बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभइ खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ ठाउँमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ ।

साल्ट ट्रेडिङमै मौज्दात कम भएपछि चिनी ल्याएर बेच्न नसकिएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग झण्डै चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताउनुभयो । दशैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएको थियो । अस्ति सार्वजनिक लेखा समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो ।

चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया