कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूकाे सनाखत भाेलि

 असोज २६, २०८० शुक्रबार १९:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको छ । मुख्यमन्त्रीका लागि ४७/४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो । सनाखत भोलि शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन् । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाउनुभएको हो ।

प्रदेश प्रमुख खापुङको कार्यालयले निकालेको विज्ञप्तिमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पुर्‍याउने सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि कार्यसम्पादन बैठकले कोशीका सन्दर्भमा कुनै निर्णय नगरि बैठक भोलिका लागि सरेको छ ।

कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेता शेखर कोइराला आउँछु आउँछु भनेर बैठकमा नआएको बताउनुभयो । बैठक पुनः बस्ने गरी आजका लागि सकिएको जानकारी गराउनुभयो । कोशीको सङ्कट हटाउनका लागि सभापति शेरबहादुर देउवाले शेखर कोइरालासँग विकल्पमा कुरा गरे पनि उहाँ तयार नभएको विश्वकर्माले बताउनुभयो । कांग्रेसबाट सर्वसम्मत अर्को व्यक्ति ल्याए माओवादीको उम्मेदवार फिर्ता गराउने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवासँग बताउनुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया