अझै केही दिन मौसम धुम्म रहने

 असोज २७, २०८० शनिबार ७:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - केही दिनदेखि बादल लागेका कारण मौसम धुम्मिएको छ । तत्काल बादल हट्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

घाम लागेपछि दिउँसोपख आकाश खुले पनि बिहान/बेलुका धुम्म हुने क्रम रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार नेपालमा पश्चिमी वायु भित्रिने क्रममा छ । अहिले मनसुन सकिन लागेको र पश्चिमी वायु बिस्तारै भित्रिने क्रममा रहेकाले पनि आकाश खुल्न नसकेको हो । यो क्रम अझै केही दिन रहनेछ । कतैकतै बदली र वर्षा छ ।

आज बिहान पूर्वका केही ठाउँमा पानी परेको छ । नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौमा आज पनि हिजो/अस्तिकै जस्तो दिउँसो घाम लाग्नेछ । अहिले काठमाण्डौमा पनि बादल लागेको छ । तर पानी भने नपर्ने मौसमविद् झाले बताउनुभयो ।

भोलि पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा नै रहनेछ । असोज अन्तिम हप्तामा पनि मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरनुपर्नेमा आज अक्टोबर १४ तारिख भइसकेको छ ।

नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । मध्य र पूर्व हुँदै मनसुन बाहिरिने क्रममा छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया