पोखरा महानगरपालिकामा विद्युतीय तार भूमिगत गरिँदै

 कात्तिक ७, २०८० मंगलबार १७:४५:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

तनहुँ – पोखराको सडकबाटै सेता हिमालहरु हेर्न लाग्दा पोलमा टांगिएका बिजुलीका तार बाधक बन्ने गरेका थिए । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्यो कि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु अगाडि आइहाल्थ्यो । पोखरालाई तारहरुले कुरुप बनाएपछि विद्युत् प्रधिकरणले तार भूमिगत गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाएको छ । प्राधिकरणले पोखरामा पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु भूमिगत गर्ने काम अगाडि बढाएको हो । 

पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकामा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको हो । पोखरामा अहिलेसम्म ३० प्रतिशत काम भएको छ भने भरतपुरमा ५० प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले बताउनु भयो ।

उहाँले मुख्य तथा सहायक सडकसम्मै तार बिछ्याइने बताउनु भयो । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विछ्याइनेछ । अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्ने सुवेदीले बताउनु भयो । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सय मिटर पूर्वबाट शुरु भएर न्युरोडको दायाँ बायाँ, रत्कनचोक, लेकसाइडको सबै क्षेत्रमा पुग्ने उहाँले बताउनु भयो ।

विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार तथा पोलबाट मुक्ति पाउने पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले बताउनु भयो । उहाँले तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने बताउनु भयो ।

तारलाई भूमिगत गरी सकेपछि पोखराको मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तार जमिनमुनि बिछ्याइनेछ । तारहरु भूमिगत हुँदा पोखराको सौन्दर्य बढ्ने उहाँको भनाइ छ ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने आयोजना प्रमुख सुवेदीले बताउनु भयो । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उहाँको भनाइ छ । 

पोखरा वितरण केन्द्रअन्तर्गत विद्युतका ९४ हजार १ सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक संख्या हो ।

पोखराको एक अर्ब ३० करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको यो आयोजनाको निर्माण कार्य भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्टस् लिमिटेडले लिएको छ । सम्झौता अनुसार तार भूमिगत गर्ने काम आगामी जनवरीसम्ममा सक्नु पर्ने हुन्छ ।

भरतपुर सहितको तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का दिइएको प्राधिकरण जनाएको छ । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको छ । तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरणले नै गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया